आगामी असोज ३ गते अर्थात संविधान दिवसको अवसर पारेर सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘खुस्मा’को दोस्रो गीत ‘रुकुम मैकोट’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंको कमलपोखरी स्थित बिग मूभिजमा एक कार्यक्रमको आयोजना गर्दै यो चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
एसडी योगीको संगीत निर्देशन तथा सुरेन्द्र रानाको शब्द रचना रहेको गीतमा संगीतकार योगी र शान्तिश्री परियारको स्वर छ । यो गीतको भिडियोमा यो चलचित्रका मुख्य कलाकार धिरज र उपासनासँग अन्य कलाकारहरु फिचर्ड छन् । रिकेश गुरुङ संगीत निर्माता रहेको गीतको भिडियोमा सुरेन्द्र राईको कोरियोग्राफी हेर्न सकिन्छ ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन अशोक थापा मगर गरेका हुन् । उनले यसअघि केही डकुमेन्ट्री चलचित्र लेखन तथा निर्देशन गरेपनि यो नै ठुलो पर्दाको पहिलो निर्देशकिय चलचित्र हो ।
विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर निर्माता रहेको यो चलचित्रको सह-निर्माता सुस्मिता बुढाथोकी छन् भने दिपक बज्राचार्यको छायांकन रहेको छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित यो चलचित्रले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।
यो चलचित्रमा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रका वितरण गोविन्द शाहीको काफिया फिल्मस्ले गर्नेछ ।