‘तेल भिसा’को पहिलो लिरिकल भिडियो रिलिज

१० भदौ २०८१ १४:५९

मंसिरको ७ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुने चलचित्र ‘तेल भिसा’को पहिलो लिरिकल भिडियो ‘हरि नाम झैं’ सार्वजनिक गरिएको छ । सोमबार श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर यो चलचित्रको पहिलो गीत सार्वजनिक गरिएको हो ।

यो चलचित्रको सार्वजनिक गीतमा कल्याण सिंहको संगीत तथा हर्क साउदको शब्द रचना रहेको छ। निशान भट्टराई र समीरा थपलियाको स्वर रहेको यो गीतको भिडियोमा चलचित्रका कलाकारहरु विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, वुद्दि तामाङ र सुचित्रा उप्रेती प्रस्तुत छन् ।

नायक विपिन कार्कीकी स्वर्गीय आमा सरस्वती कार्कीप्रति समर्पित गरिएको यो गीतको शब्दहरु मन छुने छन् । नायक विपिन कार्कीको दोहोरो भूमिका रहेको यो चलचित्रलाई वेल्डन क्रियसनको व्यानर र नायिका ऋचा घिमिरेको प्रस्तुतिमा अनिल पाण्डे र शिवराज कार्कीले निर्माण गरेका हुन् ।

शंकर घिमिरेको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माताको रुपमा रहेका छन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, अजय खड्काको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *