श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्र ‘हन्टर’ निर्माणको घोषणा गरिएको छ । निर्माण पक्षले सोमबार नायकबाहेक काष्ट एन्ट क्र्यिु गोप्य राख्दै यो चलचित्रको घोषणा गरेको हो ।
निर्देशक जीवन सिंहले निर्देशन गर्ने यो चलचित्रको मुख्य भूमिका (नायक)मा अरुण क्षेत्री रहनेछन् । उनले ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’लगायत चलचित्रमा काम गरिसकेका छन् ।
निर्देशक सिंहले अन्य कलाकारबारे केही दिनपछि जानकारी गराइने बताइएका छन् । निर्देशक सिंहको यो पहिलो डेब्यु निर्देशकिय चलचित्र हो । क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने चलचित्रले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ ।
चलचित्र एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताएका छन् । “चलचित्र हन्टर रियल पात्रको कथाबाट इन्स्पायर हो । तर हामी सिनेम्याटिक लिवर्टी लिएर कथा भन्ने छौँ,” उनले भने, “रियल पात्रको कथामा फिक्सन मिसाइनेछ । जसले यो चलचित्रलाई रोचक र रमाइलो बनाउनेछ ।”
चलचित्रमा पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । चलचित्रको प्रि–प्रोडक्सनको काम भइरहेको छ । चलचित्रको छायांकन पश्चिम नेपालमा हुनेछ ।