यही शुक्रबार बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘सतीदेवी’को प्रिमियर सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा पत्रकार र कलाकारहरुको बाक्लो उपस्थितिमा यो चलचित्रको प्रिमियर सम्पन्न भएको हो ।
यो चलचित्रको प्रिमियर हेर्नका लागि नायिका गौरी मल्ल, पूजा शर्मा, मिरुना मगर, निर्मात्री पूनम गौतम, निर्देशक ज्ञानेन्द्र देउजा, दिवाकर भट्टराई, शोभित बस्नेत, नायकहरू सलिनमान बनियाँ, कुन्साङ बोमजोम, सलोन बस्नेत लगायतका चलचित्रकर्मीहरु हलमा पुगेका थिए । यस्तै, माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले पनि यो चलचित्र हेरेकी छिन् ।
यो चलचित्र हेर्ने प्राय: सबैले नेपालमा विद्यमान रहेको समस्यालाई उठान गरेको बताउदै चलचित्रको तारिफ गरेका थिए ।
हाम्रो समाजमा आज पनि छोराको चाहनामा छोरीहरूमाथि हुने गरेको अन्यायको कथा बोल्ने यो चलचित्रलाई निर्देशक तथा पत्रकार लक्ष्मण सुवेदीले निर्माण तथा निर्देशन गरेका हुन् ।
निर्देशक सुवेदीको कथा, पटकथा र संवाद रहेको यो चलचित्रमा नायिका मलिका महत मुख्य भूमिकामा छिन् । उनको अभिनयको निकै तारिफ पनि भइरहेको छ ।