चलचित्र ‘नरसिंहाः अवतार’ मा कलाकारहरुको रोचक लाइनअप तयार हुने क्रम जारी छ। निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको यो चलचित्रको लागि अहिलेसम्म पाँचजना मुख्य पात्रहरु फाइनल भइसकेका छन् ।
एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो चलचित्रमा अभिनेता प्रशान्त ताम्राकार पनि जोडिएका छन् । निर्माण पक्ष र ताम्राकारबीच मंगलबार लिखित सहमति भएको हो । ‘नरसिंहाः अवतार’मा ताम्राकारको कस्तो भूमिका हो भन्ने विषयमा केही नखुलाइए पनि चलचित्रको शीर्षमध्ये एक भूमिकामा अनुबन्धित गराइएको निर्देशक भट्टराईले जानकारी दिए ।
निर्देशक भट्टराई र अभिनेता ताम्राकारले यसअघि ‘ऐश्वर्या’ र ‘मायावी’मा पनि सहकार्य गरेका थिए । त्यस्तै, यो चलचित्रका लागि यसअघि महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भएका छन् । निर्माणपक्षले यो चलचित्रमा यी सबैजना कलाकारको के कस्तो भूमिका छ भन्ने बिषयमा पनि केही खुलाइएको छैनन् ।
यो चलचित्र मार्फत ८ वर्षपछि महानायक हमालले कम्ब्याक गर्दैछन् । आठ वर्ष भन्दा धेरै समयपछि हमाल चलचित्रमा फर्किने खबरले यतिबेला नेपाली चलचित्रवृत तताएको छ । यो चलचित्र उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ ।
क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो चलचित्रको यही भदौको अन्तिम साताबाट छायांकन सुरु गरिने निर्माणपक्षले जनाएको छ ।