२२ दिनमा सकियो ‘कार्साङ’को छायांकन

४ भदौ २०८१ ७:५८

यम शेर्पाले निर्देशनमा निर्माण भएको चलचित्र ‘कार्साङ’को छायांकन सकिएको छ । सिन्धुपाल्चोक बाट छायांकन सुरु भएको यो चलचित्रको २२ दिनमा सम्पूर्ण छायांकन सकिएको हो ।

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा र बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जनाएको छ । कलाकारहरूको बलियो लाइनअप रहेको यो चलचित्रलाई ‘कार्साङ’ यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण गरिएको हो ।

‘यो चलचित्रको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतका साथ समयमै छायांकन सम्पन्न गर्न पाइयो’, निर्देशक शेर्पाले भने, ‘अब पोस्टको काम त्यही अनुरूप गर्दैछौँ, सोचे जस्तै भयो भने हामी चाँडै प्रदर्शन गर्न सक्छौँ ।’

यो चलचित्रको मुख्य कलाकारहरुको केही दिन अघि चलचित्रको छायांकन सेटबाट क्यारेक्टर लुक्स सार्वजनिक गरिएको थियो, जसमा अभिनेता दयाहाङ राई र नव-अभिनेत्री सिर्जना निङ्लेखु देखिएका थिए । उक्त तस्वीरमा उनीहरुलाई रैथाने चरित्रमा रहेको अनुमान लगाउन सकिन्छ । दयाहाङ र सिर्जनाले यो चलचित्रमा जोडीको भूमिका निर्वाह गरेका छन् । केही म्युजिक भिडियोमा काम गरेकी सिर्जनाको यो डेब्यु चलचित्र हो ।

सामाजिक कथावस्तुमा निर्माण भएको यो चलचित्रमा निर्देशक शेर्पा स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ। यसअघि थुप्रै सर्ट चलचित्र निर्देशन गरिसकेका शेर्पाको यो डेब्यु निर्देशकीय चलचित्र हो ।

पुरूषोत्तम प्रधान निर्माता रहेको चलचित्रमा उनकै डिओपी छ। प्रोडक्सन म्यानेजर दिलीप पन्त रहेको यो चलचित्रको देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स्ले लिएको छ ।

यो चलचित्रमा दयाहाङ र सिर्जनासहित जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित, कर्मा शेर्पाको अभिनय रहेनछ। बाल कलाकारमा राशी लिम्बु र सोहन थापाले अभिनय गर्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *