निर्देशक दीपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘छक्का पन्जा ५’को गीत सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक गरिएको ‘बिहे भाको छैन’ बोलको गीतमा यो चलचित्रको मुख्य कलाकारहरु दीपकराज गिरी र वर्षा सिवाकोटी फिचर्ड छन् ।
सार्वजनिक यो गीतमा सविन सुवेदी र बेनिशा पौडेलको स्वर, दीपकराज गिरी र दीपक शर्माको शब्द, दीपक शर्माको संगीत रहेको छ । लोक शैलीमा तयार पारीएको यो गीतको भिडियोमा दीपक र वर्षाको प्रेम छछल्किएको छ ।
आगामी असोजको २४ गते अर्थात फूलपातीको दिनबाट रिलिजमा आउन लागेको यो चलचित्रको सार्वजनिक गीतलाई सुनिल क्षेत्रीले कोरियोग्राफी गरेका हुन् । चलचित्रमा दीपकराज गिरीको पटकथा, दीपकराज गिरी, केदार प्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवाद छ ।
यस वर्षकै प्रतिक्षित मानिएको यो चलचित्रले बक्स अफिसमा धुम मच्चाउने अपेक्षा गरिएको छ । चलचित्रमा रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन, हरि हुमागाँइको छायांकन छ ।