अभिनेता तथा निर्माता समेत रहेका बागमती प्रदेशका नव नियुक्त मन्त्री मधुकुमार श्रेष्ठलाई सम्मान गरिएको छ । श्रेष्ठ चलचित्र क्षेत्रबाट मन्त्री हुन सफल भएको भन्दै नेपाल फिल्म सोसाइटीले एक कार्यक्रमको आयोजना गर्दै उनलाई सम्मान गरेको हो ।
चलचित्र सोसाइटीका अध्यक्ष कृष्ण मल्लले चलचित्र सङ्घ विशाल नगरमा आयोजित कार्यक्रममा उनलाई खादा, मालाबाट सम्मान गरेको हो । कार्यक्रममा मन्त्री श्रेष्ठले चलचित्र क्षेत्रको प्रगतिका लागि विगत झैँ सक्रिय भएर क्रियाशील रहने बताए ।
त्यस्तै, चलचित्र सोसाइटीका अध्यक्ष अभिनेता कृष्ण मल्लले चलचित्रकर्मी राष्ट्र निर्माणमा पनि सक्षम छन् भनेर मन्त्री श्रेष्ठले देखाएको बताए । मल्लले अन्य मन्त्रीहरू भन्दा अब्बल काम गरेर देखाउन श्रेष्ठलाई सुझाव दिए ।
चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, चलचित्र सङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल काजी कायस्थ, कलाकार रमेश उप्रेती, कृष्ण ढुङ्गानालगायतको सहभागिता थियो ।