आगामी भदौ २१ गते बाट छायांकनमा जाने चलचित्र ‘होस्टेल ३’बाट ‘माग्ने बुढा’का छोरा आशिष घिमिरेले डेब्यु गर्ने भएका छन् । शनिबार उनलाई निर्माणपक्षले यो चलचित्रका लागि अनुबन्धित गरेको हो । उनी सँगै यो चलचित्रमा कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन् ।
यो चलचित्रका लागि यसअघि प्रमुख भूमिकामा पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन् । आशिष ‘माग्ने बुढा’को नामबाट परिचित कलाकार केदार घिमिरेका छोरा हुन् ।
यस्तै, हेना थियटर पृष्ठभूमिबाट चलचित्रमा प्रवेश गरेकी हुन्। उनले एक्टर स्टुडियोमा लामो समय नाटक गरेकी छन् भने वेब सिरिजहरू ‘खेल’ र ‘साहु बा’मा पनि अभिनय गरेकी छन्।
यो चलचित्रको लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । यो चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दैछ ।
यो चलचित्रको कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन्। सहनिर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा हुन् ।
छायांकन अगावै रिलिज मिति घोषणा गरेको यो चलचित्र आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुनेछ ।