‘मोदीबेनी’को काठमाडौंमा भव्य प्रिमियर

१७ साउन २०८१ ५:०२

भोली शुक्रबार बाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘मोदीबेनी’को काठमाडौंमा भव्य प्रिमियर भएको छ। कमलपोखरीमा रहेको बिग मुभिजमा भएको प्रिमियरमा नेपाली चलचित्रकर्मी, नेता तथा सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।

प्रिमियरमा वर्षा, अमर, रेजिना, स्नेहासँगै चलचित्रका कलाकारहरू प्रवीण खतिवडा, दिलीप के.सी., कमल मणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, सरोज लामिछाने, सुब्रत आचार्य, रोजी श्रेष्ठ, पूजन श्रेष्ठ लगायतको उपस्थिति थियो। साथै, निर्देशक शङ्कर कोइराला, डिओपी उत्सव दाहाल, सम्पादक भरत रेग्मी, निर्माताहरू दिलीप केसी र हरि श्रेष्ठ सहित क्रियटिभ तथा प्राविधिक टिमको पनि सहभागिता थियो।

चलचित्र हेर्न प्रतिनिधि सभा सदस्य शोबिता गौतम, पत्रकार दिल भुषण पाठक, कलाकारहरू रमेश उप्रेती, निर्मल शर्मा, विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, कलाकार तथा निर्देशक दीपा श्री निरौला, निर्देशक शोभित बस्नेत, कमेडियन हिमेश पन्त लगायत पुगेका थिए। ट्रेलर सार्वजनिक भएपछि प्रतीक्षारत बनेको ‘मोदीबेनी’ले कसैको मृत्युपश्चात् भएको एउटा अविश्वसनीय कथामा आधारित रहेर प्रेम, बदला र पारिवारिक कथा भनेको छ।

शोबिता गौतमले चलचित्रको प्राविधिक तथा क्रियटिभ काम मन परेको प्रतिक्रिया दिइन्। ‘सोसल कनट्र्याक्ट थ्यौरी’ अनुसार नै हाम्रो समाज चल्ने बताउँदै उनले सबै कुरा मै हो भन्ने सोचले कस्तो नतिजा दिन सक्छ भन्ने चलचित्रले देखाएको बताइन्। कलाकार हिमेश पन्तले चलचित्र रमाइलो र ट्विस्ट रहेको बताए। उनले चलचित्रको ‘सस्पेन्स’ भागको चर्चा गरे।

निर्देशक दीपा श्री निरौलाले आफूलाई चलचित्रको ट्रेलरले नै प्रिमियरसम्म तानेको र अपेक्षा अनुसार कै चलचित्र बनेको प्रतिक्रिया दिइन्। चलचित्रका नव अभिनेता अमर प्रताप श्रेष्ठ, अभिनेत्री वर्षा सिवाकोटीसहित सबै कलाकारको काम उत्कृष्ट रहेको निरौलाले प्रतिक्रिया दिइन्।

अभिनेता रमेश उप्रेतीले हेर्दै आएका चलचित्रहरू भन्दा फरक लागेको बताए।निर्देशक शोभित बस्नेतले ‘मोदीबेनी’ साँच्चिकै राम्रो बनेको भन्दै धेरै पछि अभिनेत्री रेजिना उप्रेतीलाई ठुलो पर्दामा देख्दा खुसी लागेको बताए। उनले निर्देशकको काम पनि मन परेको प्रतिक्रिया दिए।

चलचित्रको लागि उत्कृष्ट प्रतिक्रिया पाएपछि पहिलो पटक चलचित्र निर्देशन गरेका शङ्कर कोइरालाले आफ्नो सपना साकार भएको बताए। शुक्रवार रिलिज हुने ‘मोदीबेनी’ले देशभर उल्लेख्य शोहरू प्राप्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *