चलचित्र ‘कार्साङ’को छायाङ्कन सुरु गरिएको छ । साउन १५ गते मंगलबारबाट सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सामा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो ।
अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको यो चलचित्रको १ महिनाको छायांकन सेड्युल सहित सुटिङ सुरु गरिएको हो । चलचित्रको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिका विभिन्न स्थानमा छायांकन गरिने जनाएको छ ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रलाई यम शेर्पाले निर्देशन गर्दैछन् । उनको यो डेब्यू निर्देशन हो । यो चलचित्रका निर्माता पुरुषोत्तम प्रधान हुन् ।
सामाजिक कथावस्तुमा निर्माण हुन लागेको यो चलचित्रमा दयाहाङ राई, सृजना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा, सरिता गिरी, माओत्से गुरुङ, सम्राट् क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगाना लगायतको अभिनय रहनेछ । सृजना र छिरिङले यही चलचित्रबाट अभिनयमा डेब्यु गर्दै छन् ।