सञ्चारमन्त्री गुरुङद्वारा ‘अग्नीदहन’को फस्टलुक रिलिज

१५ साउन २०८१ ११:३१

साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक चलचित्र ‘अग्नीदहन’को फस्टलुक सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले फस्टलुक सार्वजनिक गरेका हुन् ।

आगामी मंसिर ७ गते रिलिज हुने यो चलचित्रको कार्यक्रममा मन्त्री गुरुङले बोक्सीको अन्धविश्वासविरुद्ध चलचित्र निर्माण हुनु सराहनीय कार्य भएको बताए । ‘बोक्सीको आरोपमा धेरै महिला मारिएका छन् । उनीहरुमाथि कुटपिट भएको छ, उनीहरुले आत्महत्या गरेका छन् । अझ भनौं अमानवीय कार्य नै भएको छ’, उनले भने, ‘नेपालमा बोक्सी प्रथाको अन्धविश्वास हटाउन ठूलो चुनौती छ । यो प्रथा हाम्रो शरीरमा रहेको पिलो जस्तै हो । त्यसलाई सबैले मिलेर फाल्नुपर्छ । त्यो अभियानमा यो चलचित्र सफल हुन्छ भन्नेमा आशावादी छु ।’

यो चलचित्रका निर्देशक घनश्याम लामिछानेले एउटा डरलाग्दो विषयलाई चलचित्रमा उठान गरिएको बताए । ‘चलचित्रमा थ्रिल, सस्पेन्स सबै छ । उपन्यासलाई हामीले सिनेम्याटिक तवरबाट चलचित्रमा उतारेका छौं । चलचित्रमा दर्शकले सन्देश र उत्सुकता दुवै पाउनुहुनेछ’, उनले भने ।

यो चलचित्रमा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको मुख्य सहायक निर्देशन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।

निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले हेरिसकेको यो चलचित्रलाई विकास बोर्डले ‘विशेष चलचित्र अवार्ड’ समेत दिइसकेको छ ।

यो चलचित्रमा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *