किरण नेपालीको प्रस्तुतिमा नयाँ चलचित्र ‘कल्ली’ निर्माणको घोषणा गरिएको छ । नायक पल शाह र नायिका बेनिशा हमालको मुख्य भूमिका रहने यो चलचित्रलाई किरण नेपालीले निर्माण गर्दैछन् ।
निर्देशक लक्ष्मण सुनारको लेखन तथा निर्देशन रहने यो चलचित्रको मंगलबार तीन पोस्टर सार्वजनिक गर्दै औपचारिक निर्माणको घोषणा गरिएको हो । यो चलचित्रको घोषणा सँगै यही बर्षको चैत्र २९ गते रिलिज मिती पनि तय गरिएको छ ।
रेड बर्ड प्रोडक्शन र कस्तूरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने यो चलचित्रको तीन पोस्टरमा नायक पल शाह र नायिका बेनिशा हमाल फिचर्ड छन् । एक पोस्टरमा पल शाह एङ्ग्री अवतारमा देखिएका छन् भने बेनिशाको अवतार केही भिन्न छ । हातमा अग्नि बोकेकी बेनिशाको गेटअपले दर्शकलाई केही फरक अनुभुती हुने निश्चित छ । एउटा पोष्टरमा बेनिशाको आँखाबाट आँसु झारेकी छिन् ।
यो चलचित्रमा महेश दवाडीको पटकथा तथा संवाद छ । यो चलचित्रका निर्माण प्रमुख सुरज आचार्य हुन् । चलचित्र ‘बुलाकी’ निर्देशन गरेपछि चर्चामा रहेका निर्देशक लक्ष्मणले यो चलचित्र केही फरक गर्ने बताए ।
तिहारपछि छायांकन सुरु गरिने यो चलचित्रको छायांकन कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा गर्ने तयारी भइरहेको निर्देशक सुनारले जानकारी दिए ।
