ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘के घर के डेराः घर नम्बर २’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित भएका छन् । सोमबार यो चलचित्रका निर्देशक दीपेन्द्र के खनालले उनलाई मुख्य भूमिकामा अनुबन्धित गरेको जानकारी दिए ।
साउनको २५ गतेबाट छायांकन सुरु हुने यो चलचित्रमा अभिनेता आर्यनको प्रवेशसँगै यो चलचित्रको लाइनअप बलियो बनेको छ । यसअघि नायक खगेन्द्र लामिछाने र निश्चल बस्नेतको प्रवेश भइसकेको यो चलचित्रको लागि अझै केही कलाकार अनुबन्धित गरिने निर्माणपक्षले जनाएको छ ।
सामाजिक कथावस्तुमा निर्माण हुने यो चलचित्रमा अनुवन्धित भएपछि अभिनेता सिग्देल निकै उत्साहित देखिएका छन् । उनले, यो चलचित्रको कथावस्तु बलियो रहेकाले आफू काम गर्न तयार भएको जनाए ।
फिल्मको निर्माणपक्ष र आर्यनबिच लिखित संझौता भइसकेको छ । यो चलचित्रमा आर्यनको कस्तो भूमिका छ भन्ने बिषयमा भने केही पनि खुलाइएको छैन ।
चर्चित लेखक बुद्धिसागरको लेखन, कथा र पटकथा रहने यो चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्माताको रुपमा छन् । युवराज कार्की यो चलचित्रका कार्यकारी निर्माता हुन् । यो चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने छ ।