चलचित्र ‘शाम्बाला’को रिलिज मिती तय भएको छ । शुक्रवार साँझ ललितपुरमा आयोजित एक कार्यक्रमबिच यो चलचित्रको रिलिज मिति घोषणा गरिएको हो । चलचित्र आगामी भदौ २८ गते (सेप्टेम्बर १३)मा आउने भएको हो ।
कार्यक्रममा यो चलचित्रका निर्देशक भामले पहिलो चलचित्र कालोपोथी केही हलमा मात्र रिलिज भएको जनाउँदै यो चलचित्र देशभर रिलिज हुने जानकारी दिए । यो चलचित्रले नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा उठाएको छ ।
झन्डै १४ करोड नेरु बजेटमा निर्माण गरिएको यो चलचित्र अहिलेसम्मकै महँगो नेपाली चलचित्र रहेको बताइएको छ । यो चलचित्रले नेपालको चलचित्र विकास बोर्डसहित विश्वका १७ अन्तर्राष्ट्रिय संस्थाबाट फण्ड जितेको छ ।
निर्देशक मीनबहादुर भाम निर्देशित यो चलचित्र ड्रामा, एड्भेन्चर र म्याजिक रियालिज्ममा निर्माण गरेको हो भने प्रदर्शन एप्पल इन्टरटेनमेन्टले गर्न लागेको हो । नेपाली र तिब्बती भाषामा रिलिज हुने यो चलचित्रलाई नेपालमा अङ्ग्रेजी र नेपाली सबटाइटलमा समेत प्रदर्शन गरिनेछ ।
यो चलचित्रमा सोनम तोप्देन थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा वाङ्ग्याल गरुङ, कर्मा शाक्य, लोटन निमलिङ्ग, जंग बहदुर लामा लगायतका कलाकारको मुख्य भूमिका छ ।