विमल सुवेदीको निर्देशनमा मञ्चन हुन लागेको नाटक ‘हिटलर आउँदैछ’ बाट नायिका वर्षा राउतले नाटकमा डेब्यू गर्ने भएकी छिन् । उनी यो नाटकलाई लिएर निकै उत्साहित छिन् ।
निर्देशक सुवेदी र जोयश पाण्डे मिलेर यो नाटकको कथा लेखेका हुन् । जोयश चलचित्र ‘साँघुरो’का निर्देशक हुन् । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका ख्याति प्राप्त व्यक्तिहरूको उपस्थितिमा नाटकको बारेमा जानकारी दिइएको थियो ।
यो नाटकको वर्कशपका लागि वर्षा यतिबेला अमेरिकामा छिन् । उनी एक महिनाको ‘तेल भिसा’को छायांकन सकेर नेपाल फर्किएको केही दिनमै अमेरिका पुगेकी हुन् । यो नाटकमा वर्षासँगै कलाकार जोयस पाण्डेले पनि अभिनय गर्दैछन् ।
आगामी भदौको २३ गते प्रिमियर हुने यो नाटकको मञ्चन अमेरिकाको ओहायो राज्यमा रहेको एक्रोन सिभिक थिएटरमा हुनेछ ।
नाटकले भुटानबाट राजनीतिक रुपमा बलपूर्वक निस्कासन गरिएका नेपाली भाषी भुटानी, नेपाली डायस्पोरा र उनीहरुको पुस्ताले भोगेको मानसिक र पहिचानको संकटलाई प्रस्तुत गर्ने निर्देशक विमल सुवेदीको भनाई छ ।