किन पशुपतिको कोटीहोम महायज्ञमा पुगे वर्षा र अमर ?

८ साउन २०८१ ७:५१

यही श्रावण १८ गते रिलिज हुने चलचित्र ‘मोदीबेनी’का कलाकारहरू कोटिहोम पुगेका छन् । उनिहरु पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा एक महिने कोटीहोम महायज्ञको सातौँ दिनमा सहभागी भएका हुन् ।

मानव सेवा फाउन्डेसनको प्रमुख आयोजनामा भइरहेको महायज्ञमा कलाकारहरू वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, कमलमणि नेपाल, दीपेन्द्र गौतम, लेखक आनन्द विक्रम क्षेत्री, निर्माता हरि श्रेष्ठ, पोस्टर डिजाइनर रोयल भीमसेन, मिडिया विभाग प्रमुख जीवन पराजुली लगायतको टिम पुगेका थिए।

त्यहा अभिनेत्री वर्षा सिवाकोटीले भक्ति भावले जीवन सुन्दर हुने बताउँदै चलचित्र रिलिजको सम्मुखमा आशीर्वाद लिनको लागि महायज्ञमा सहभागी भएको बताइन्। उनले सो महायज्ञकी कथा वाचिका राधिका दासको जीवन सङ्घर्ष तथा जीवन दर्शनको विचारहरूबाट आफू निकै प्रभावित रहेको जनाइन्। त्यस्तै, महायज्ञमा सहभागी अभिनेता अमर प्रताप श्रेष्ठले आफूले पहिलो पटक अभिनय गरेको चलचित्रलाई सफल बनाउन आफूले प्रार्थना गरेको प्रतिक्रिया दिए।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन्। चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यसमा उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन छ।

शङ्कर कोइरालाले निर्देशन गरेको यो चलचित्रमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, सुरेन्द्र बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम लगायतको अभिनय रहेको छ।

यो चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *