गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको चलचित्र ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । छायांकन अगावैबाट चर्चामा रहेको यो चलचित्रको दुई चरण गरी ४५ दिनमा छायांनक पूरा भएको हो ।
पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै यो चलचित्रको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए ।
उनी भन्छन्,’समय लगाएरै यो चलचित्रको छायांकन सकिएको छ, सुटिङ अवधिभर कलाकार र प्राविधिकहरुको साथ मिल्नाले सोचे अनुरुप नै काम सक्काइयो, अब बाँकी गीतको छायांकन युरोपमा गर्ने सोचमा छौं । चलचित्र कस्तो बन्यो भन्ने आम दर्शकलाई लाग्न सक्छ, जे होस् अब आउने तीन महिनाको अवधिमा हाम्रा टिजर, ट्रेलर र फस्टलुकबाट थाहा पाइनै हाल्नु हुने छ, यति हो प्रदीप खड्कालाई हेर्दै आएको भन्दा फरक देख्न सक्नुहुनेछ।’
अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मस्को निर्माण रहेको यो चलचित्रमा थमन कुमार भण्डारीको लगानी छ । एनिस भुसाल सह-निर्माता रहेको यो चलचित्रको क्रियटिभ प्रोड्युसर मोती कार्की र छायाँकार नरेन्द्र मैनाली हुन् ।
कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज हुने यो चलचित्र जापान प्रदर्शन अधिकार समेत बिक्री भएको छ। ‘एक्टर’को जापान राइट्स खेम राज शाहको म्याक्स इटरटेन्टमेन्टले खरिद गरेको हो ।
निर्देशक राजन भुसालको डेब्यु निर्देशनमा तयार भएको यो चलचित्रमा प्रदीप र दिव्यासहित राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय रहेको छ । दिव्याको यो पहिलो डेब्यु चलचित्र हो । राजबल्लभले यही चलचित्रबाट करिब दश वर्षपछि कमब्याक गरेका छन् । नायक खड्काले पहिलो पटक चलचित्रको पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।