गत फागुन ११ गतेबाट रिलिजमा आएको चलचित्र ‘गोर्खा वारियर’ अब कोरियन भाषामा रिलिज हुने भएको छ । यो चलचित्र दक्षिण कोरियामा कोरियन भाषामा रिलिज गर्ने तयारी भइरहेको निर्देशक चाम्सले बताएका छन् ।
१ घन्टा ५० मिनेट लामो यो चलचित्रलाई कोरियन कम्पनी मुभमेन्ट पिक्चर्स कर्पले कोरियन भाषामा रिलिज गर्न लागेको हो । यो चलचित्रले नेपाली चलचित्र क्षेत्रमा नयाँ विषयवस्तुको उठान गरेसंगै सन् १९४९ मा मलाया जंगलमा गोर्खालीहरुले देखाएको वीरताको कथालाई चलचित्रको पर्दा मार्फत प्रस्तुत गरेकोछ।
निर्देशक मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’मा मलेसियाको जंगलमा नेपाली गोर्खाली सेनाहरूले वीरताको साथमा लडेको कथा भन्छ । यो चलचित्र नेपाली र अंग्रेजी भाषामा रिलिज भइसकेको छ । कोरियाका हलहरुमा रिलिज गर्न लागिएको यो चलचित्र हलमा रिलिज भएपछि स्थानीय टेलिभिजनहरूमा पनि रिलिज गरिने चाम्सले बताए ।
यो चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको मुख्य भूमिकामा रितेश चाम्स छन् ।
यो चलचित्रलाई अमेरिकन कम्पनीले खरिद गरिसकेकाले ७ वर्षसम्म युट्युबमा रिलिज नहुने भएको छ । त्यस्तै, हिन्दी संकरण भने ओटिटीमा रिलिज हुनेछ ।