आगामी साउन ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘ईश्वर’ले पोखरामा सोमबार पत्रकार सम्मेलन गरेको छ । सम्मेलनमा यो चलचित्रको कलाकार माओत्से गुरुङले निर्माता ध्रुव थापा आफ्नो साथी रहेकाले उनको चलकित्र प्रतिको मोहलाई अहिले आएर यो चलचित्रले पूरा गरेको बताएका छन् ।
निर्देशक राजु गिरी निर्देशित यो चलचित्र दर्शकले मन पराउनेमा माओत्से आशावादी छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्र निर्माता हरिबहादुर थापा पनि उपस्थित थिए । उनले यो चलचित्रमा पहिलो पहिलोपटक लगानी गरेको बताए । चलचित्र राम्रो बनेको दाबी गर्दै उनले वर्षमा दुईटा नभए एउटासम्म निर्माण गर्ने योजना रहेको भन्दै यो चलचित्रमा करिब १ करोड ८० लाख लगानी लागेको छ।
कास्कीको माछापुच्छे् गाउँपालिका याङ्जाकोटमा सुटिङ भएको यो चलचित्र अन्तरजातीय प्रेमकथामा आधारित रहेको निर्माण गरिएको छ । यो चलचित्र ‘अन्याय र अत्याचारको विरुद्धमा लाग्ने एक जना इन्स्पेक्टरको कथा हो,’ कलाकार माओत्सेले भने ।
यो चलचित्रकी नायिका कृस्टि गुरुङको लागि यो डेब्यु हो । त्यसो त उनले पहिले नै गुरुङ चलचित्र खेलिसकेकी छन् । ‘यो चलचित्रमा कति धेरै दुःख गरियो । संघर्ष गरियो,’ उनले भनिन्, ‘सबैको आ–आफ्नो कथा हुन्छ । सबैजनाले मेरो अभिनयलाई मन पराइदिनुहुन्छ भन्ने आशा गर्दछु ।’
दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको यो चलचित्रमा माओत्से गुरुङ, ध्रुव थापा, कृस्टि गुरुङका अलावा सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सविन बास्तोला, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतका कलाकारको अभिनय छ ।
भोजराज देवकोटाको पटकथा तथा संवाद र लक्ष्मी कुँवर प्रस्तुतकर्ता रहेको यो चलचित्रमा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी, रामेश्वर हुमागाईंको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।