गत जेठ १० गतेबाट रिलिजमा आएको चलचित्र ‘फर्की फर्की’मा महंगो पारिश्रमिक लिएका नायक अनमोल केसीले नेपाल सरकारलाई कर तिरेका छन् । यो चलचित्रका लागि उनले ५० लाख रकम लिएका थिए । निर्माता रोहित अधिकारीले सार्वजनिक गरेको आँकडामा अनमोलले ५० लाख लिएको उल्लेख गरेका छन् ।
नेपाली चलचित्र क्षेत्रमा कलाकारले यति पारिश्रमिक लिए भनेर चर्चा भएपनि कागजी संझौताको रुपमा मात्र लिन्छन् कि वास्तवमै लिन्छन् भन्ने पक्का भएको थिएन् । तर, रोहितले भने अनमोलले ५० लाख लिने गरेको पुष्टि गरिदिएका छन् ।
त्यस्तै, उनले ५० लाख पारिश्रमिक लिदा साढे ७ लाख कर नेपाल सरकारलाई तिरेका छन् । अहिलेसम्म कुनै निर्माता र कलाकारले मैले पारिश्रमिक लिए अनुसारको कर तिरेको छु भनेर सार्वजनिक गर्ने हिम्मत गरेका थिएनन्। तर, अनमोलले भने आफू राज्यप्रति वफदार रहेको पुष्टि गर्दै १५ प्रतिशत कर सरकारलाई तिरेका हुन् । करबापत उनले ७ लाख ५० हजार रुपैयाँ तिरेको खुलाएका छन् ।
नेपालसँगै विश्व बजारमा राम्रो कमाई गरेको अनमोलको यो चलचित्रले उनको हाइप अझै माथि पुर्याइदिएको छ। यसले, अनमोलका आगामी चलचित्रका लागि फाइदा हुने निश्चित छ ।