अभिनेता खगेन्द्र लामिछानेको जन्मदिनमा नयाँ चलचित्र ‘के घर के डेरा: घर नम्बर २’ मा अनुबन्ध गरिएको छ । जन्मदिनको अवसरमा उनलाई निर्माण टिमले चलचित्रको मुख्य भूमिकामा अनुबन्धित गरेको हो ।
निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गर्ने यो चलचित्रको खगेन्द्र र दीपेन्द्रबीच यसअघि ‘पशुपति प्रसाद’, ‘धनपति’ र ‘मेयर’मा सहकार्य भैसकेको छ । यो चलचित्रको अहिले स्क्रिप्टको काम भइरहेको छ। लेखक बुद्धिसागरले चलचित्रको लागि स्क्रिप्ट लेखिरहेका छन् ।
आगामी साउन २५ गतेबाट छायांकन सुरु हुने यो चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजिव श्रेष्ठ निर्मातामा छन् । कार्यकारी निर्माता भने युवराज कार्की हुन् । यो चलचित्रको लागि अरु पनि कलाकार केहीदिनमा फाइनल गरेर सुटिङ सुरु गर्ने निर्माणपक्षले जनाएको छ ।
ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियशनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्ने छ ।
सामाजिक कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने यो चलचित्र २०७९ सालमा आएको ‘के घर के डेरा’को ‘सिक्वेल’ हो ।