शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउने तयारी गरेको चलचित्र ‘घर ज्वाँई’को अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ । मंगलबार काठमाडौंमा भव्य प्रिमियर सम्पन्न गरेको यो चलचित्रको बुधबार साँझबाट देशभरका मल्टीप्लेक्सहरुमा अग्रिम बुकिङ खुल्ला गरिएको हो ।
अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको यो चलचित्रले देशभरका हलहरुमा गज्जबको शोज पाएको छ । जसका, कारण चलचित्रको ओपनिङ बम्पर हुने अपेक्षा गरिएको छ । देशकै ठुलो मल्टीप्लेक्स चेनले काठमाडौँमा २१ र मोफलसलमा ३७ शो दिएको छ ।
यो चलचित्रलाई दोस्रो ठुलो मानिएको चेन आईएनआईले आफ्नो तीनवटा स्टेसनमा गरी चलचित्रलाई १२ शोज तथा तेस्रो ठुलो चेन वान् सिनमाजले नयाँ बानेश्वर र कालिमाटी हलमा गरी कूल ९ शोज उपलब्ध गराएको छ ।
त्यस्तै, काठमाडौँका बिग मुभिज, एफक्युब, बिएसआर, विश्वज्योति सिनेमाज्, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज्, कीर्तिपुर सिनेमाज् जस्ता मल्टीप्लेक्सहरुमा पनि राम्रो शो पाएको छ । यसरी हेर्दा यो चलचित्रले देशभर डेढ सयको हाराहारी शो प्राप्त गरेको छ ।
सुसन प्रजापतिको छायाङ्कन रहेको चलचित्रको निर्माता जनक घर्तीमगर हुन् । यो चलचित्रले मगर समुदायको ‘घरज्वाइँ’ संस्कृतिको कथा भन्छ । दया र मिरुनाको यो छौटौ सहकार्य हो ।
निर्देशक अनिल बुढामगरको निर्देशनमा निर्माण भएको यो चलचित्रमा दयाहाङ र मिरुनाको अलवा शिशिर वाङ्गदेल, कविता आले, पुष्कर गुरुङ, बुद्धि तामाङ, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, शिला आले, अनु थापा, बिना थापा मगर, विवेश बुढा मगर, सोनाम लामा लगायतको पनि अभिनय छ ।