‘मोदीबेनी’को ‘मन्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक
२५ असार २०८१ ११:२५
आगामी श्रावण १८ गते रिलिज हुने चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार काठमाडौंको सिभिल मलस्थित क्युएफएक्स सिनेमा हलमा पत्रकार भेटघाटको आयोजना गर्दै ‘मन्जुरी’ शीर्षकको रोमान्टिक गीत सार्वजनिक गरिएको हो।
सार्वजनिक यो गीतले वर्षा र अमरको प्रेम अङ्कुरण देखिको यात्रालाई चर्चा गरेको छ। एसडी योगी र विज्ञान पराजुलीको आवाज रहेको यो गीतको सङ्गीत एसडीले नै गरेका छन् भने राम अविरल बिस्टले शब्द रचना गरेका छन्। सङ्गीत निर्माता रिकेश गुरुङ हुन्।
अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ फिचर्ड यो गीतको भिडियो रोमान्टिक छ । किरण थापाले कोरियोग्राफी गरेको गीतमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीले सम्पादन गरेका छन्।
अभिनेत्री वर्षा सिवाकोटीले चलचित्र सुन्दर बनेको बताइन्। आफ्नो जोडीको रूपमा यस चलचित्रमा देखिने कलाकार अमरको कामको उनले तारिफ गरिन्। वर्षाले चलचित्रबाट आफूले निकै आशा बोकेको बताइन्। त्यस्तै, प्रतापले पछिल्लो समय नेपाली चलचित्रमा धेरै नयाँ अनुहारहरूको प्रवेश भइरहेको छ, त्यो मध्ये एक बनेको बनेको बताउदै कला सहितको अभिनेता बन्ने सपना पछ्याउँदै मोदीबेनी मार्फत डेब्यु गरेको जनाए ।
निर्देशक शङ्कर कोइरालाले निर्देशन गरेको यो चलचित्रमा आनन्द विक्रम क्षेत्रीको लेखन, उत्सव दाहालको छायांकन, भरत रेग्मीको सम्पादन, किरण थापाको कोरियोग्राफी, शान भुषाल र एसडी योगीको संगीत छ । दिलिप केसीको लगानीमा तयार भएको यो चलचित्रमा हरि श्रेष्ठ सह–निर्माताको रुपमा छन् ।
यो चलचित्रमा वर्षा सिवाकोटी, प्रविण खतिवडा, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, रेजिना उप्रेति, दिलिप केसी, स्नेहा भट्टराई, जीवन भट्टराई, कमलमणी नेपाल, हिउँवाला गौतम, सुव्रतराज आचार्य लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।