नीता फिल्मस्को प्रस्तुतिमा निर्माण गरिएको चलचित्र ‘ह्रस्व दीर्घ’को चौथो चरणको छायांकन सुरु गरिएको छ । चौथो चराणको छायांकन अन्तर्गत अबको चार दिन यो चलचित्रको छायांकन काठमाडौं र ललितपुरमा चल्नेछ ।
चन्द्र पन्तको निर्देशन रहेको यो चलचित्रको चौथो चराणको छायांकन सकिएपछि पोष्ट प्रोडक्शन र प्रचारको कामलाई पूर्ण रुपमा अगाडि बढाउने निर्माणपक्षको तयारी छ ।
बलिउडका चर्चित छायांकार कवीरलालले खिचिरहेको यो चलचित्रको छायांकनका लागि भारतीय कलाकारहरू प्रदीप राउत, सुनिल वर्मा नेपाल आएका छन् । चलचित्र ‘पुष्पा’मा भिलेनको रुपमा देखिएपछि चर्चा पाएका कलाकार सुनिल बर्माले नेपाली चलचित्रमा काम गर्न पाउँदा निकै खुशी लागेको बताए ।
आगामी असोजको ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रको कार्यकारी निर्माता धनञ्जय गलानी हुन् । हरिहर अधिकारीको कथा रहेको चलचित्रमा प्रतीक पौडेल, हरिहर अधिकारी र चन्द्र पन्तको पटकथा तथा संवाद छ ।
नेपाली, हिन्दी र तेलुगु भाषामा रिलिज गरिने यो चलचित्रमा नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप राउत, सुनील बर्माका साथमा चर्चित भारतीय कलाकार ब्रम्मानन्दम, अली, कविर सिंह, दुहानको अभिनय छ । साथमा संचिता लुइँटेल, विपना थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रविन्द्र झा, आदर्श मिश्र, वुद्दि तामाङ, किरण केसी लगायतको अभिनय छ ।