नायक विराज भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘१२ गाउँ’को प्रदर्शन मिति तय गर्दै फस्टलुक पोस्टर रिलिज गरिएको छ । अभिनेता समीर भट्टको मुख्य भूमिका रहेको यो चलचित्रको आईतवार फस्टलुक पोस्टर रिलिज गर्दै निर्माणपक्षले आगामी दसैंलाई प्रदर्शन मिती तय गरेको हो ।
यो चलचित्रको सार्वजनिक पोस्टरमा समीर प्रस्तुत छन् भने उनको एक्सन अवतारलाई देख्न सकिन्छ । यो चलचित्रमा अभिनेता विराजले आफ्न छोरा समीरलाई डेब्यु गराएका छन् । यो उनको पहिलो डेब्यु चलचित्र हो ।
अहिले धमाधम छायांकन भइरहेको यो चलचित्रको अबको १० दिनमा सम्पूर्ण छायांकन सकिने निर्देशक विराजले बताउछन् । महेश पौडेलको छायांकन रहेको यो चलचित्रको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौडामा खिचिएको छ । यो चलचित्रको एउटा एक्सनको छायांकन भारतको मुम्बईमा गर्ने निर्माणपक्षको तयारी छ ।
विराज भट्ट फिल्म प्रोडक्सनको प्रस्तुतिमा तयार भइरहेको यो चलचित्रमा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी, प्रविन केएल र भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।
विराजको कथा, सन्तोष सरकारको पटकथा तथा संवाद रहेको यो चलचित्रको लागि विराजले दक्षिण भारतीय एक्सन निर्देशक स्टन्ट सिल्भालाई नेपाल भित्राएका थिए । चलचित्रमा सिल्भाले द्धन्द्ध निर्देशक शंकर महर्जनलाई सघाइरहेका छन् ।
यो चलचित्रमा अभिनेत्रीहरु न्यान्सी खड्का र सनिसा भट्टराईले काम गरिरहेका छन् । चलचित्रमा मुरलिधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना लगायतको अभिनय छ ।