‘बलिदान’ निर्माणमा कुनै कसर बाँकी राख्दिन : सन्तोष सेन

११ असार २०८१ ४:५८

आसुसेन फिल्मस् प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने चलचित्र ‘बलिदान’को लागि साउथका द्वन्द्व निर्देशक र छायाकार ल्याइएको छ। अब यो चलचित्रको लागि चाहिने सम्पूर्ण प्राविधिक सामग्री पनि भारतबाटै आउने जनाइएको छ ।

निर्देशक सन्तोष सेनले निर्देशन गर्ने यो चलचित्रले नेपालको सार्वभौम माटोको शोषण र थिचोमिचोमा आधारित कथा र निरङ्कुश एवम् समाजका तथाकथित नाइकेहरूको बलि दिनुपर्ने सारांशको कथा भन्नेछ ।

निर्देशक सेनले यो चलचित्रको कथालाई ‘महाकथा’ भन्दै आफूले जस्तोसुकै त्याग र बलिदान गर्न तयार रहेको बताउँछन्। उनी महिनौँ देखि कहिले छायाङ्कन स्थलको निर्माण, सेट डिजाइन तथा अन्य व्यवस्थापनका लागि पूर्वी नेपालको विराटनगर र इटहरी क्षेत्रमा त कहिले दक्षिण भारतमा त्यहाँको चलचित्र उद्योगका प्राविधिकहरूसँग छलफलमा डटिरहेका छन्।

यो चलचित्र सन्तोषको मेगा प्रोजेक्टको रूपमा रहेको छ । यो चलचित्रका लागि दक्षिण भारतका सयौँ करोडका प्रख्यात चलचित्रहरू बनाइसकेका चर्चित द्वन्द्व निर्देशक, छायाकार तथा अन्य प्राविधिकको टोली निर्माण पक्षले महँगो पारिश्रमिकमा नेपाल भित्र्याएको छ। जसमा, द्वन्द्व निर्देशक स्टन्डर साम र छायाकार शरण ऋषि सहित करिब ५० जनाको प्राविधिक टिम नेपाल भित्रिएका हुन् ।

साथै छायाङ्कनमा प्रयोग गरिने लाइट, साउन्ड, क्यामेरा लगायतका प्राविधिक सामग्रीहरू भारतको मुम्बईबाट ल्याउने निर्देशक सेनले बताए। उनले भने, “हामीले बलिदानलाई उच्चस्तरीय नेपाली चलचित्र बनाउन कुनै पनि कसर बाँकी नराख्ने प्रण गरेका छौँ। यसको लागि हामीले दक्षिण भारतबाट प्राविधिक र मुम्बईबाट इक्विपमेन्टहरू ल्याएर काम गर्दैछौँ। यो एक सामान्य चलचित्र मात्र नभएर नेपाली चलचित्र उद्योगका लागि एक ऐतिहासिक, क्रान्तिकारी र महान् चलचित्रको ढोका खोल्ने कोशेढुङ्गाका रूपमा साबित गराउनेछौँ।’

पवन ब्राडफोर्ड बिस्ट तथा प्रेम पुरी सह निर्माता रहेको यो चलचित्रको मुख्य भूमिकामा अभिनेता समीर भट्टले अभिनय गर्दैछन्। साथमा अभिनेताहरु सौगात मल्ल, अर्पण थापा, दिव्य देव तथा अभिनेत्री ऋचा शर्मा लगायतका कलाकारको अभिनय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *