निर्देशक राजन भुसालको निर्देशन रहेको चलचित्र ‘एक्टर’को अहिले धमाधम छायांकनको काम चलिरहेको । नायक प्रदीप खड्का र नायिकाद्धय दिव्या रायमाझी र आना शर्मा यो चलचित्रको मुख्य भूमिकामा छन् ।
आईतवार यो चलचित्रका निर्माअन टिमले नायक प्रदीपलाई छायांकन सेटमा ‘भ्यानेटी भ्यान’को सुबिधा दिएको छ । विशेषत भ्यानेटी भ्यान चलचित्रको छायांकनका लागि महत्वपूर्ण मानिन्छ ।
थमन कुमार भण्डारीको लगानीमा निर्माण भइरहेको यो चलचित्रको सुटिङमा भने यसपटक उनले नायक खड्काका लागि ‘भ्यानेटी रुम’ उपलब्ध गराएका हुन् । चलचित्रको लागि टेक भएको अवस्थामा बाहेक प्रदीपले यही भ्यानमा तयारी गरिरहेका छन् ।
नेपालमा नै तयार पारिएको यो ‘भ्यानेटी रुम’लाई सुटिङस्थलमा कलाकारको पहिरन परिवर्तन, मेकअप, शौचालयलगायतका सुविधाका लागि प्रयोग गरिन्छ । बलिउड र हलिउडका कलाकारहरूले छायांकन सेटमा व्यक्तिगत भ्यानेटी भ्यान प्रयोग गर्दै आएका छन् । तर, नेपालमा भने भ्यानेटी भ्यानको प्रचलन खासै छैन ।
आगामी कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउने यो चलचित्रमा नायक राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गरिरहेका छन् ।