अशोक थापा मगरको निर्देशनमा निर्माण भएको चलचित्र ‘खुस्मा’को २ नयाँ पोस्टर रिलिज गरिएको छ । सार्वजनिक यी दुई पोस्टरले चलचित्रको बारेमा फरक–फरक भाषा प्रस्तुत गरेको देख्न सकिन्छ ।
आगामी असोजको ३ गतेबाट सार्वजनिक प्रदर्शन हुने यो चलचित्रको सार्वजनिक एक पोस्टरमा चलचित्रका मुख्य दुई कलाकारहरू नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी प्रेममा रमाएका छन् । भने अर्को पोस्टरमा उपासनाको आँखाबाट आशु खसेको देखाइएको छ ।
मगर समुदायको प्रेमकथामा निर्माण गरिएको यो चलचित्रमा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेतान मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी निर्माताका रुपमा रहेका छन् । दीपक बज्राचार्यको छायांकन रहेको यो चलचित्रमा एसडी योगी र छान्जु पार्कको संगीत छ ।
एम मिडिया प्रालिको व्यानरमा निर्माण गरिएको यो चलचित्रमा कलाकारहरु माओत्से गुरुङ, सुजाता राई, विजय संयोग सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुण पुन मगर, सारा राई लगायतको अभिनय छ ।