चलचित्र ‘पुजार सार्की’ संयुक्त अधिराज्य (युके)मा रिलिज भएको छ। जुन २१ शुक्रवार रिलिज भएको यो चलचित्र युकेका ओडियन सिनेमाज तथा सिनेवर्ल्डमा रिलिज भएको हो।
गत जेठ १० गते नेपालमा रिलिज भई सफलताका साथ पाँचौँ हप्तामा प्रदर्शन भइरहेको यो चलचित्र युकेका सहरहरू बेसिङस्टोक, बर्मिङ्घम न्यू स्ट्रिट, गिल्डफोर्ड, लिसेस्टर, म्यानचेस्टर ग्रेट नर्दन, एल्डरशट, इलफोर्ड, फेल्दम लगायतका ओडियन र सिनेवर्ल्ड हलमा दैनिक रूपमा हेर्न सकिन्छ। यसरी बक्स अफिसमा नै संसारभरका चलचित्रहरू सँगै युकेमा नेपाली चलचित्र रिलिज कमै हुने गरेका छन्।
चलचित्रका निर्माता सुबास भुसालले युकेमा नेपाली चलचित्रको लागि ‘पुजार सार्की’को रिलिज ऐतिहासिक रहेको बताए। उनले भने, “हामीले अहिले नेपालसँगै संसारभरका नेपालीहरू रहेका सहरहरूमा ‘पुजार सार्की’ विभिन्न तवरबाट प्रदर्शन गरिरहेका छौँ। युकेमा समेत बक्स अफिसमा रिलिज भएको छ, यो नेपाली चलचित्रको लागि ऐतिहासिक हो।”
त्यस्तै, संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरूमा पनि यो चलचित्र बक्स अफिसमा नै रिलिज भइरहेको छ भने अन्य मुलुकहरूमा पनि चलचित्र प्रदर्शन भइरहेको छ। यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार एमएसएम इन्टरटेन्मेन्टले लिएको छ।
दिनेश राउतले निर्देशन गरेको यस चलचित्रमा विकास सुवेदीको लेखन रहेको छ भने आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको अभिनय रहेको छ।