गत शुक्रबारदेखी चलचित्र ‘बाटो– रोड टु डेथ’ प्रदर्शनमा आएको छ । यो चलचित्रमा अभिनेता उत्पल झा ‘मन्जिल’ पात्रको मुख्य भूमिकामा प्रस्तुत छन् ।
रंगमञ्चको लामो अनुभवपछि चलचित्र अभिनयमा होमिएका झाले यो चलचित्रबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् । झाको यो डेब्यु चलचित्र हो । त्यसैले दर्शक प्रतिक्रिया लिन उनी अचेल हल हलमा पुगिरहेका छन् ।
सोही क्रममा सोमबार आइएनआइ नयाँ बानेश्वर पुगेका अभिनेता झाले पहिलो चलचित्रबाट पाएको सकारात्मक प्रतिक्रियाले अगाडि बढ्न प्रेरणा मिलेको बताउछन् ।
उनी भन्छन्,‘रंगमञ्चमा व्यस्त भइरहँदा आफूलाई चलचित्रमा पनि आउनुपर्छ भन्ने लागेको भएपनि यही चलचित्रबाट डेब्यू होला भने कहिलै लागेको थिएन। ‘वास्तवमा एकदमै राम्रो भो, म थिएटरहरुमा बिजी थिएँ, मैले चलचित्र गर्नुपर्छ भन्ने थाहा थियो । तर यसरी आउँछु भन्ने थिएन ।’
उनले यो चलचित्र थ्रिलर जनरा नेपाली चलचित्रका लागि नौलो भएको र प्राविधिक पाटो समेत सशक्त भएकोले चलचित्रले प्रशंसा पाएको सुनाउदै भने, -‘हुन त चलचित्रमा सुरुमा म कास्टिङ डाइरेक्टरका रूपमा अनुबन्धित भएको थिए । यसक्रममा मलाई चलचित्रको प्रमुख खल चरित्रको भूमिकाले विशेष आकर्षित गरेको थियो । पछि निर्देशक–निर्माताले एउटा भूमिका तपाईंले गर्नुपर्छ भनेपछि मैले ‘मन्जिल’को भूमिकामा आफूलाई लक गराए ।
पहिलो चलचित्रबाट चर्चा पाएका उनी अहिले पुणेन्द्रु झाको निर्देशन रहने नयाँ चलचित्रमा प्रमुख भूमिकामा देखिँदैछन् ।