‘दान्भी’बाट आशावादी कुन्साङ

४ असार २०८१ ६:२१

मोडल कुन्साङ बोमजम चलचित्र ‘दान्भी’मार्फत अभिनयमा ‘डेब्यू’ गर्दैछन् । यही असार ७ गतेबाट रिलिज हुने तयारीमा रहेको यो चलचित्रबाट उनी निकै आशावादी र उत्साहित छन् ।

यो चलचित्रमा ‘सारांश’ पात्रमा देखिएका कुन्साङ आफ्नो चरित्रबारे त खुल्दैनन्, तर आफ्नो काम दर्शकले स्वीकार्नेमा ढुक्क छन् । ‘दान्भीमा मेरो चाखलाग्दो चरित्र छ । तर अहिले भन्न मिल्दैन । यो चलचित्र हेरेपछि थाहा हुन्छ ।

मेरो चरित्र गम्भीरदेखि अलिक फरक मोडबाट बाँचेको किसिमको छ । चलचित्रमा अलिक गम्भीर र देशलाई माया गर्ने किसिमको मान्छे छु’ कुन्साङ भन्छन् ।

सेन्ट जेभियर्सबाट पास आउट कुन्साङ स्कुल पढ्दादेखि नै नाटकका कलाकार र कराँतेका खेलाडी हुन् । ‘मैले कक्षा ३ देखि ११ सम्म मार्सल आर्ट गरें । ११ पछि मार्सल आर्टको काम रोकियो । मार्सल आर्टले अहिलेसम्म निरन्तरता दिइरहेको भए ‘दान्भी’मा एक्सन गर्न सजिलो हुन्थ्यो । तर बीचमा ग्याप भएपछि यही चलचित्रका लागि मैले ६ महिना एक्सन प्राक्टिस गरें’, कुन्साङ भन्छन् ।

कुन्साङ दर्शकले फरक एक्सन थाहा पाउन ‘दान्भी’ हेर्नुपर्ने दाबी गर्छन् । म्युजिक भिडियोको आफ्नो रोमान्टिक छविलाई ‘दान्भी’ले परिवर्तन गर्नेमा उनी ढुक्क छन् । ‘दर्शकले गीत, ट्रेलरमा मेरो लुक्स देखिसक्नुभएको छ । अझ म्युजिक भिडियोमा मेरा फ्यानले मेरो काम देखिसक्नुभएको छ । अब यो चलचित्र हेरिसकेपछि मेरो अभिनय क्षमता कस्तो रहेछ भनेर थाहा पाउनुहुनेछ ।’ कुन्साङ भन्छन् ।

उनी भन्छन्,’स्क्रिप्टमा आफ्नो चरित्रका कारण ‘दान्भी’मा जोडिएको हो। ‘सुरुदेखि अन्त्यसम्म मेरो जुन क्यारेक्टर गएको छ, त्यो फिलिङ, इमोसनमा आफूले काम देखाउन पाएको छु । दर्शकका लागि मेरो काम फेरी फरक लाग्न सक्छ,’ उनी भन्छन् ।

सेन्ट जेभियर्स पढ्दा उनले कक्षा ६ देखि १२ सम्म विभिन्न कथावस्तुका नाटकमा प्रमुख भूमिकामा अभिनय गरे । विदेशबाट आएका कलाकारले पनि उनीहरुलाई नाटक सिकाउँथे । त्यहीकारण उनले अभिनय सिक्नुपर्ने अवस्था खासै आएन । रुपेश तामाङ निर्देशित यो चलचित्रमा पुजा शर्मा, कुन्साङ बोमजम, किरण श्रेष्ठ, मोनासिला खतिवडा, राजाराम पौडेल, कालु रानालगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *