टुँडिखेलबाट ‘घरज्वाइँ’को प्रचार सुरु

३ असार २०८१ ६:२६

आगामी असार २८ गतेबाट प्रदर्शन हुने चलचित्र ‘घरज्वाइँ’ टिमले व्यापक प्रचार प्रसारको सुरुवात गरेको छ । असार १ गतेबाट टुँडिखेलमा सुरु भएको मगरहरुको महान पर्व भूमेको अवसर पारेर यो चलचित्रको प्रचार सुरु गरिएको निर्माता जनक घर्तीमगरले बताए ।

चलचित्रको तर्फबाट अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, निर्देशक अनिल बुढामगर, कलाकार शिशर वाङ्देल, भोलाराज सापकोटा लगायत टुँडिखेल पुगेका थिए ।

कार्यक्रममा बोल्दै अभिनेता राईले भने, ‘नेपाल बहुल जाति र भाषिक देश भएकाले एकअर्काको संस्कार र संस्कृति बुझ्न जरुरी भएको बताए । आफु भोजपुरमा जन्मिएको राईको छोरो भएपनि पूर्वी रुकुमको एक मगर युवाको जीवन चलचित्रमा बाँच्न पाएको र आफुले यो कारेक्टरलाई न्याय दिने दिलोज्यान लगायकाले सवैलाई मन पर्ने विश्वास व्यक्त गरेका थिए ।’

त्यस्तै, यो चलचित्रकी अभिनेत्री मिरुना मगरले भनिन्,’आफु सानैमा विदेश गएकाले पनि मगर संस्कार र संस्कृतिलाई नजिकबाट बुझ्न पाएको थिइन् । ‘घरज्वाइँ’ले आफुलाई यो अवसर जुराएको भन्दै निर्माता जनक घर्तीमगर र निर्देशक अनिल बुढामगरलाई धन्यवाद दिइन् । मिरुनाले आफु पूर्वेली मगर भएकाले पनि पश्चिमको संस्कार र संस्कतिको बारेमा बुझ्ने इच्छा थियो । यो अवसर ‘घरज्वाइँ’ले जुराएको छ । आफुले चलचित्रको पात्रको रुपमा आफ्नो संस्कार र संस्कृतिलाई देश तथा विदेशमा चिनाउने अवसर पाएकोमा खुशी व्यक्त गरिन् ।’

जिएम मूभीज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सुसन प्रजापतिले खिचेका हुन । पूर्वी रुकुम आसपासमा छायांकन गरिएको यो चलचित्रको कथा पनि निर्देशक अनिल आफैले लेखेका हुन् । उनलाई पटकथा तथा संवाद लेखनमा भने बिनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् ।

हर्क साउद र मनोज थापाको शब्द तथा संगीत, कृष्ण भन्डारीको सम्पादन र डिजिटल पार्टनर बुढा सुब्बा डिजिटल रहेको यो चलचित्रलाई एमएसएम अष्ट्रेलियाले विदेश प्रदर्शन अधिकार र नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ ।

यो चलचित्रमा दयाहाङ र मिरुनाका अलवा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, बिबेश बुढा मगर, सुनिल मगरले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *