‘पुजार सार्की’ हेरेपछि भावुक भए डा. बाबुराम भट्टराई

३१ जेठ २०८१ १४:११

गत जेठको १० गतेबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ हेरेपछि पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई भावुक भएका छन् । यो चलचित्र हेरेपछि उनले धार्मिक शास्त्रमा नै परिवर्तन गरी जातीय विभेद अन्त्यतर्फ लाग्नुपर्ने बताएका छन्।

बिहीबार दिउसो चलचित्र हेरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै भट्टराईले यसको लडाइँ लामो भएको बताउदै भने,-‘म त यसैका निम्ति जिन्दगीभर लागिराखेको मान्छे हुँ। ‘पुजार सार्की’ हेर्दा हेर्दै म भावुक भएँ, कतिपय प्रसङ्ग आफैसँग पनि मिलेको पाएँ यो लामो लडाइँ हो। जातीय विभेद आर्थिक, राजनीतिक तथा सांस्कृतिक रूपमा त छँदै छ, यसमा धार्मिक शास्त्रको पनि आड रहेको छ। धार्मिक शास्त्रलाई नै परिवर्तन नगरेसम्म नेपाल मात्र होइन दक्षिण एसियामा नै जातीय विभेद अन्त्य हुन गाह्रो छ। यो मुद्दालाई यो चलचित्रले गहिरो गरी उठाएको छ।”

जातीय विभेद अन्त्यको लागि राज्यले गर्ने पहलमा धर्मगुरुहरूले नै साथ दिनु पर्ने बताउदै उनले थपे, “म आफैले पनि मेरो नाम बाबुराम कामी भन्नुस् भनेर संसदमा नै भनेको थिए, यो चलचित्रको पुजारीले पनि आफ्नो नाम पुजार सार्की लेख्नु भएको छ। यस्तो समस्यामा एक व्यक्तिले नाम मात्र लेखेर हुँदैन, राज्य र धर्मगुरुहरूले नै साथ दिनुपर्छ।” भट्टराईले यो चलचित्रले सन्देश त दिएको छ नै साथमा दर्शकलाई मनोरञ्जन पनि दिएको बताए। उनले राज्यले यस प्रकारका चलचित्रलाई कर छुट दिनुपर्ने विचार राखे।

लेखक बिकास सुवेदीले पूर्ण रूपमा कम्युनिस्ट आन्दोलनमा रहेकाहरूकै कथा नभएता पनि कहीँ न कहीँ उनीहरूबाट नै प्रभावित पात्रहरू यो चलचित्रमा रहेको बताए। सुवेदीले भने, “उहाँहरूले यो स्तरको प्रतिक्रिया दिनु मेरो लागि ठुलो सफलता हो। मूल मुद्दामा अडान लिने मानिसहरू मुद्दाबाट पर पर पुग्नु र अवसरवादीहरू अगाडि आइरहेको कम्युनिस्ट आन्दोलनमा देखिएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *