ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘रुमानी रंग’बाट निर्देशक अनिल योञ्जन बाहिरिएका छन् । ४ महिना अगाडि निर्माण घोषणा गरिएको यो चलचित्रलाई निर्देशक योञ्जनले निर्देशन गर्ने पक्का भएको थियो ।
तर, विशेष जानकारी अनुसार अनिलले यो चलचित्र निर्देशन नगर्ने जानकारी निर्माणपक्षलाई दिएपछि यसका निर्माता नयाँ निर्देशकको खोजीमा लागिपरेका छन् ।
बैशाखको अन्तिमा साताबाट छायांकन सुरु गर्ने बताइएपनि अहिलेसम्म सुरु हुन सकेको छैन । जीएम ठकुरी प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माताको रुपमा रहेको यो चलचित्रको ९० प्रतिशत छायांकन अष्ट्रेलिया र १० प्रतिशत छायांकन नेपालमा गर्ने भनिएको थियो ।
त्यस्तै, यो चलचित्रको मुख्य भूमिकामा नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले काम गर्ने पक्का भएको थियो । तर, अब निर्देशकले नै यो चलचित्रबाट हात निकालेपछि यो चलचित्र निर्माण होला कि नहोला त त्यो भने कुर्नै पर्ने हुन्छ ।