निर्देशक सुदर्शन थापा अझै दुई दिन प्रहरीको हिरासतमा नै रहने भएका छन् । उनलाई अझै दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
उनलाई सोमबार दिउँसो मालीगाउँ प्रहरीले पक्राउ गरेर प्रहरी वृत्त बौद्धमा पठाएको थियो । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद-२’को लेनदेनको विवादमा उनलाई प्रहरीले प्रक्राउ गरेको थियो । चलचित्र छायांकनमा रहेको समयमा थापालाई पक्राउ गरेको हो ।
गएको असोजमा ‘प्रसाद-२’का निर्मातामध्येका एक सुदर्शन बस्नेतले आपराधिक विश्वासघातको आरोपमा निर्देशक थापाविरुद्ध उजुरी दिएका थिए । तर, थापा लामो समयसम्म प्रहरीको आँखा छल्दै भागिरहेका उनी उजुरी परेको ७ महिनापछि पक्राउ परेका थिए ।
निर्देशक थापाले आफ्नो मन्जुरीबिना चलचित्र प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप निर्माता बस्नेतको छ । सोही उजुरिको आधारमा निर्देशक थापालाई प्रहरीले पक्राउ गरेको थियो । निर्देशक थापा पक्राउपछि अहिले चलचित्रको सम्पूर्ण छायांकन रोकिएको अस्तव्यस्त बनेको छ ।