आगामी असार ७ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘शिरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक ट्रेलरमा बढ्दो आधुनिकताको प्रभाव, लाहुरे संस्कृति, आदिवासी जनजातिको परम्परा, रीतिरिवाज र साँस्कृतिक पहिचान लगायतका कुरा प्रस्तुत गरिएको हो ।
कमल एक्चै मगरको निर्देशनमा तयार भएको यो चलचित्रले छोरी-चेलीलाई शिरको फूलको रुपमा ब्याख्या गर्दै शीर्षकलाई सम्बोधन गरेको कथा पेश गर्छ । निर्देशक कमलको यो पहिलो डेब्यु चलचित्र हो । निर्देशक मगरले यसअघि ‘डेसान’ बनाएका थिए । जसले यतिबेला विभिन्न अवार्ड जितिरहेको छ ।
आशिर्वाद पुन मगर र माया छन्त्याल पुनको निर्माण रहेको यो चलचित्रमा देवराज आले मगरको कथा तथा राज थापा र राजु युगिनको पटकथा तथा संवाद छ । राजु थापा, डिपी खनाल र कृष्ण केसीको शब्द, हरि लम्साल र देवराज आले मगरको संगीत, निरोज श्रेष्ठको छायांकन तथा मिलन श्रेष्ठको सम्पादन छ ।
अभिनेत्री मरिश्का पोखरेलको विशेष भूमिका रहेको यो चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, विनिता थापा मगर, सुनिल रोका, कमल एक्चै मगर, पुजा गदाल, लिला गुरुङ, किरण मगर, नीता पुन लगायतको अभिनय छ ।