अभिनेता विराज भट्टको निर्देशन रहेको चलचित्र ‘१२ गाउँ’को द्वन्द्व छायांकनका लागि बलिउडका द्वन्द्व निर्देशक सिल्भा यतिबेला चितवनको सिमरामा छन् । यो चलचित्रको यतिबेला धमाधम द्वन्द्वको छायांकन चलचिरहेको छ ।
सिल्भाले नेपाली द्वन्द्व निर्देशक शंकर महर्जन र देव महर्जनसँगको सहकार्यमा डेब्यु हिरो समीर भट्टको एक्सन सिन खिचिरहेको निर्देशक भट्टले बताएका छन् । निर्देशल भट्टले द्वन्द्वका लागि बलिउडबाट सिल्भा मास्टरलाई केहीदिन पहिले नै नेपाल बोलाइएको छ ।
नेपाली चलचित्रको द्वन्द्वमा केही फरक र गुणस्तरीय गर्न बलिउडबाट सिल्भा बोलाएको निर्देशक विराजले बताए । सिल्भा बलिउड तथा साउथ चलचित्रका द्वन्द्व निर्देशक हुन् । उनले बलिउडका ‘रोवट २.०’, ‘साहो’, ‘माही’ लगायत थुप्रै चलचित्रमा द्वन्द्व निर्देशन गरेका छन् ।
अभिनेता विराजका छोरा समेत रहेका समीरले यो चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेका हुन् । यो चलचित्रमा पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि यही चलचित्रबाट अभिनयमा डेब्यु गर्दैछिन् ।
महेश पौडेलको छायांकन रहेको यो चलचित्रमा कनिज कोइराला, सुलेमान शंकर ‘इकु’, मुरलीधर, कालु राना, सन्तोष सरकार लगायतको अभिनय रहेको छ ।
एक्सन–थ्रिलर जनरामा निर्माण भइरहेको यो चलचित्रको प्रोडक्सन म्यानेजरमा सुवास काफ्ले रहेका छन् । सन्तोष सरकारको पटकाथा रहेको यो चलचित्र ललितपुरको केही दिनको छायांकनपछि चितवन पुगेको हो ।