यो बर्षकै प्रतिक्षित रुपमा हेरिएको चलचित्र ‘छक्का पन्जा ५’को फस्टलुक पोस्टर र प्रदर्शन मिति घोषणा गर्दै निर्माणपक्षले छायांकन सुरु गर्न लागेको छ। बिहीवार चलचित्रको मुख्य भूमिकामा नायिका वर्षा सिवाकोटीलाई फाइनल गर्दै निर्माणटिमले भक्तपुरको सूर्यविनायक मन्दिरमा चलचित्रको शुभसाइत गर्दै आजबाट छायांकन सुरु गर्न लागेको हो ।
आमा सरस्वती मूभिज र आइएमईको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रको हरेक सिरिजमा नयाँ नयाँ नायिका अनुवन्धित हुँदै आएसङै अहिले पाँचौ सिरिजमा नायिका सिवाकोटी अनुबन्धित भएकी हुन् । सार्वजनिक फस्टलुक पोस्टरमा दीपकराज गिरी , वर्षा र केदार घिमिरे फिचर्ड छन् । त्यस्तै, दीपक र वर्षालाई जोडीको रुपमा हेर्न सकिन्छ ।
असोज २४ गते फूलपातिको दिनबाट देशव्यापि प्रदर्शन गरिने यो चलचित्रको छायांकन सेड्युल ५० दिनको छ । यसपटक कलाकार तथा लेखक दीपकराज गिरीले राजनीतिक कथावस्तु भन्दा केही पर रहेर सामाजिक कथावस्तुलाई प्राथमिकता दिएको बताए ।
दीपक शर्मा र बाबुल गिरीको संगीत, दीपकराज गिरीको कथा, हरि हुमागाँइको छायांकन रहने यो चलचित्रलाई पोखरा, काठमाडौं र नुवाकोटमा खिचिनेछ।
दीपाश्री निरौलाको निर्देशन रहने यो चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे र वर्षा सिवाकोटीको मुख्य भूमिका रहनेछ । यो चलचित्रको अन्य कलाकारबारे खुलाइएको छैन ।