माफी माग्दै महजोडीले भनेः बोल्दा त्रुटि भयो

१४ जेठ २०८१ १२:२८

कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको बचाउमा बोलेकोप्रति वरिष्ठ हास्यकलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले क्षमायाचना गरेका छन् । यतिबेला कार्यक्रमको लागि अष्ट्रेलियामा पुगेका मह जोडीले आफूहरूबाट त्रुटि भएको भन्दै भिडियो सन्देश जारी गर्दै दर्शकसँग माफी मागेका हुन् ।

सिरोहिया पक्राउ परेपछि कान्तिपुर टीभीले महजोडीसँग प्रतिक्रिया लिएको थियो । अदालतमा विचाराधीन मुद्दाको विषयमा बोलेपछि उनीहरुको चौतर्फी आलोचना भएको थियो । प्रहरीले अनुसन्धान गरिरहेको विषयमा आरोपीको बचाउ गरेको भन्दै दुवैको आलोचना भएको थियो । चौतर्फी आलोचना भएपछि उनीहरुले हात जोडेर माफी मागेका हुन् ।

महजोडीले अहिले विचाराधीन विषयमा आफूहरूले नबोलेको भए हुन्थ्यो भन्दै आफ्नै मान्छे सम्झिएर माफी दिन आग्रह गर्दै भिडियो सार्वजनिक गरेका हुन् । भिडियो मार्फत मदनकृष्णले भनेका छन्, ‘अस्तिनै हामी एउटा एफएममा बसेर अष्ट्रेलिया आउने विषयमा छलफल गरिरहेका थियौं । त्यही बेला त्योभन्दा गम्भीररूपमा अर्को अदालतमा विचाराधी विषयमा पत्रकार साथीहरू बसेर कुराकानी गरिरहनु भएको रहेछ । एउटा मुडमा बसिरहेको बेला अपर्झट टीभीमा बोल्ने प्रस्ताव आयो । हामी अक्मकियौं के बोल्ने कसो बोल्ने भनेर । अपर्झट बोल्दा केही त्रुटि हुन गएको महसुस भएको छ ।’

त्यस्तै, हरिवंशले थपेका छन्, ‘अदालतमा विचाराधीन मुद्दाको विषयमा नबोलेको भए हुन्थ्यो । हामीबाट त्रुटि भयो । आफ्नै मान्छे सम्झिएर माया गरिदिनुभएको छ । सबै कुरा बिर्सिएर माफी दिन अनुरोध गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *