यही जेठ २३ देखि २५ गतेसम्म ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१’ को आयोजना हुने भएको छ। आदिवासी जनजाति चलचित्र महासङ्घको आयोजनामा प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा हुने भएको हो ।
सोमबार महासङ्घले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै महोत्सवबारे जानकारी दिएको हो । ‘महासङ्घले स्थापना कालदेखि नै महोत्सवलगायतका आदिवासी जनजाति चलचित्र प्रवर्द्धनसम्बन्धी कार्यक्रम गर्दै आएको हो। कोरोना महामारीका कारण तेस्रो संस्करणपछि महोत्सव आयोजना गर्न सकिएको थिएन । अहिले आएर पुनः निरन्तरता दिन लागेका छौ ।’ महासङ्घका अध्यक्ष पुर्खाजित राईले भने ।
उनले आदिवासी जनजाति चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको भन्दै मुलुकको अर्थतन्त्र बलियो बनाउन र राष्ट्रको सांस्कृतिक पहिचानलाई जोगाइ राख्न आदिवासी जनजाति चलचित्रको ठुलो भूमिका रहेको भए पनि राज्यले चासो नदिएको उनको भनाइ छ।
महोत्सवले आदिवासी जनजातिका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा र लोक प्रथाको दस्तावेजीकरण एवं संरक्षण र प्रवर्द्धनका साथै पर्यटन विकासमा टेवा पुग्ने उदेश्यले यो कार्यक्रम गर्न लागिएको आयोजक बताउछ ।
महोत्सवमा प्रदर्शन हुने उत्कृष्ट चलचित्रलाई नगद २० हजार, उत्कृष्ट वृत्तचित्रलाई १० हजार, उत्कृष्ट सर्ट फिल्मलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, पब्लिक च्वाईस अवार्ड पाउनेलाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । चौथो संस्करणमा फिचर, छोटो चलचित्र डकुमेन्ट्रीसहित नौ वटा चलचित्र प्रदर्शन गरिनेछ ।