जेठ १० गतेको दिनबाट सार्वजनिक प्रदर्शनमा आएको दुई चलचित्र ‘फर्की फर्की’ र ‘पूजार सार्की’ले यतिबेला हलमा तहल्का मचाइरहेको छ। प्रदर्शनको दिनदेखी नै बम्पर ओपनिङ गरेको यो चलचित्रले हलमा दर्शकको मेला नै लगाएका छन् ।
चलचित्र रिलिजको चौथो दिन आईतवार पनि बिहानैबाट दर्शकको उच्च अकुपेन्सी हलमा छ । यो चलचित्रले आक्रामक ओपनिङलाई आज पनि निरन्तरता दिइरहेको छ।
अनमोल केसीको मुख्य भूमिका रहेको यो चलचित्र ‘फर्की फर्की’ले पनि प्रदर्शनको दिनदेखि उत्साहप्रद व्यापार गरिरहँदा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङले काठमाडौंमा विभिन्न हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् ।
यो चलचित्रप्रती युवापुस्ताको बढी आकर्षण देखिएको छ । शनिबार यो चलचित्रको व्यापार एक करोडमाथि भएको आँकलन छ । पहिलो दिन ८० लाख माथिको व्यापार गरेको यो चलचित्रले आज पनि आफ्नो ब्यापारलाई निरन्तरता दिनेमा निर्माणपक्ष ढुक्क छ।
निर्देशक सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको यो चलचित्र प्रेम कथामा निर्माण गरिएको हो । निर्माता रोहित अधिकारी खुशी देखिएका छन् । दर्शक प्रतिक्रिया राम्रो पाइरहेको यो चलचित्रमा ‘टाइम लूप’को प्रयोग गरिएको छ।
त्यस्तै, जातीय विभेदको कथामा निर्माण गरिएको चलचित्र पूजार सार्की’ले पारिवारिक र युवापुस्ता दुवै वर्गका दर्शकलाई हलमा आकर्षिक गरेको छ । अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको क्रेज पनि हलमा गजब देखिएको छ ।
यो चलचित्रले काठमाडौं उपत्यकासहित मोफसलका ठूला सहरका हलहरुमा आईतवार पनि बिहानैदेखि हाउसफुल व्यापार गरिरहेको जानकारी प्राप्त छ । साँझका कति शोजहरु दिउँसोबाटै हाउसफुल भैसकेका छन् भने कति भरिने क्रममा छन् । यो चलचित्रले शनिबार एक करोडमाथिको व्यापार गरेको थियो ।
यो चलचित्रलाई दर्शकबाट बलियो ‘वर्ड अफ माउथ’ मिलेको छ। विकास सुवेदीको लेखन रहेको यो चलचित्र किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको हो । सुवाश भुषालको निर्माण, राजेश श्रेष्ठको डिओपी, हिमाल केसीको द्वन्द्व रहेको यो चलचित्रमा प्रदीप खड्का, आर्यन सिग्देल, पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘पुजार सार्की’मा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको अभिनय छ ।