‘कोशी चलचित्र महोत्सव २०८१’ बाट अभिनेता शिव श्रेष्ठसहित दर्जन बढी कलाकर्मी एकसाथ सम्मानित भएका छन् । कलाकारिताको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान बनाएको भन्दै श्रेष्ठलाई ‘विशेष योगदान सम्मान २०८१’ प्रदान गरिएको हो।
चलचित्र महोत्सवको अन्तिम दिन एक विशेष कार्यक्रमका बिच सम्मान प्रदान गरिएको उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष तथा निर्माता राजकुमार, कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, निर्देशक नवीन सुब्बा, निर्माता छविराज ओझा, पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार निर्देशक रमेश बुढाथोकी, रंगपत्रकार प्रकाश सुवेदीलाई पनि ‘विशेष योगदान सम्मान २०८१’ प्रदान गरिएको हो।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, महोत्सवका संयोजक तथा चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशका अध्यक्ष अरुणकुमार प्रधान लगायतले सम्मानित सबैलाई दोसल्ला, खाँदासहित प्रमाण पत्रले सम्मान गरिएको थियो ।
त्यस्तै, वरिष्ठ कलाकार तथा निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘लाइफटाइभ अचीवमेन्ट सम्मान २०८१’ प्रदान गरिएको थियो । चलचित्रकर्मी कुबेर शर्मा, चिरञ्जीवी बस्नेत, केशव रायमाझी, सबुरलाल चौधरी, लाखमान योजन, सुमित खड्का, गायक श्रीकृष्ण लुइँटेल, वीरेन्द्र झा, विपिन प्रसाई, सुवास मेचे, प्रेम देवानलगायतलाई ‘प्रादेशिक सम्मान’ प्रदान गरिएको थियो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले कोशी प्रदेशलाई चिनाउन चलचित्र महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले चलचित्र महोत्सवलाई आगामी दिन पनि निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा चलचित्र कलाकार सङ्घका निवर्तमान अध्यक्ष रवीन्द्र खड्का, चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, चलचित्र पत्रकार सङ्घका केन्द्रीय उपाअध्यक्ष कुबेर गिरी, निर्माता सङ्घका कोषाध्यक्ष ज्योतिराज राईलगायत विभिन्न क्षेत्रका थुप्रै व्यक्तिहरूको सहभागिता रहेको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेसँगै सुरु भएको महोत्सवमा कोशी प्रदेशमा चलचित्र निर्माण, विश्व बजारमा नेपाली चलचित्र, नेपाली चलचित्रमा महिला भन्ने विषयमा दिनेश डीसी, नवल खड्का, नवीन सुब्बा, सुचित्रा श्रेष्ठ र संगीता श्रेष्ठ लगायत वक्ता रहेको अन्तर्क्रिया समेत आयोजना भएको थियो ।
६ दिन कोशी प्रदेशका विभिन्न स्थानमा चलचित्र प्रदर्शन गरिएको महोत्सव कोशी प्रदेशलाई चलचित्र हव बनाउने र यहाँका चलचित्रको प्रचार प्रसार गर्दै चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक चलचित्रकर्मी महासङ्घका अध्यक्ष अरुण प्रधानले बताए ।