शुक्रबार अर्थात जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको प्रतिक्षित चलचित्र ‘फर्की फर्की’मा रवि काफ्लेको पनि अभिनय रहेको छ। यो चलचित्र मार्फत उनी अभिनेता अनमोल केसीको साथी ‘सुबास’को भूमिकामा देखिँदैछन् । पेशागत रुपमा रवि इञ्जिनियर हुन् । तर, अब यो चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका छन्
‘म पेशाले इञ्जिनियर भए पनि सन् २०१७ देखि हामीले विज्ञापन कम्पनी सुरु गरेका थियौं । त्यो कम्पनीमा म क्रिएटिभ डिपार्टमा काम गर्थे । बाल्यकालदेखि नै चलचित्रप्रती रुची थियो । कम्पनीमार्फत नै बनाइएका म्युजिक भिडियोमा पनि अभिनय गरें’, रवी भन्छन्, ‘विज्ञापन कम्पनीमा जोडिएपछि अभिनयदेखि अन्य प्राविधिक विषयमा ज्ञान लिएँ । जसले गर्दा चलचित्रमा काम गर्न सजिलो भयो ।’ उनी आफ्नो साथी दिनेश सुवेदीमार्फत निर्माता रोहित अधिकारी र निर्देशक सुयोग गुरुङको सम्पर्कमा आएका रवीले अडिसन दिएपछि ‘फर्की फर्की’का लागि छानिएका हुन् ।
रवीका अनुसार चलचित्रमा उनको चरित्र मिलनसार, राम्रो काम मात्र गर्ने, कसैलाई गलत नगर्ने र कोहीले गलत गर्न खोज्न भने उसलाई सम्झाउने किसिमको छ । ‘चलचित्रमा म्याडी पात्र अर्थात अनमोललाई सम्हाल्ने चरित्र छ । अनमोलसँग स्क्रिन शेयर गर्न पाउँदा खुशी छु । चलचित्रमा अभिनय गर्ने इच्छा थियो । तर सुरुमै स्थापित नामसँग स्क्रिन शेयर गर्दा पाउँदा झन बढी खुशी छु’, उनी भन्छन् ।
चलचित्र रिलिज मिति नजिकिँदै गएपछि रवी उत्साहित र नर्भस छन् । ‘हाम्रो चलचित्र विश्वभरका दर्शकले एकसाथ हेर्दै हुनुहुन्छ । मेरो पात्रप्रति प्रतिक्रिया कस्तो होला भन्ने कौतुहलता छ । आफ्नो पनि इच्छाको क्षेत्र र यस्तो गर्न पाए हुन्थ्यो भन्ने सपना पुरा हुँदा चाहिँ मलाई एकदमै खुशी लागेको छ’, रवी भन्छन् ।
रवीको बुझाईमा ‘फर्की फर्की’ युवाहरुको कथा हो । मित्रतामा कतिपय कुराहरु अव्यक्त हुने भएकाले त्यो भावनालाई खोज्ने माध्यम नै यो चलचित्र रहेको रवीको भनाई छ । ‘चलचित्र हेर्न आउने दर्शकले मेरो क्यारेक्टर मात्र नभई हरेक क्यारेक्टर रिलेट गर्न सक्नुहुन्छ । किनकी उहाँहरुको जीवनमा साथी र परिवार हुन्छ । उहाँहरुसँग हाम्रो आ–आफ्नो सम्बन्ध हुन्छ । त्यो सम्बन्ध भित्रको उतारचढावहरु छन् । उतारचढावका बाबजुद पनि जीवन कसरी अगाडि बढ्छ भन्ने कुरा चलचित्रमा देखाइएको छ’, उनी भन्छन् ।
यो चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय छ ।