चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा कलाकारहरूको रोचक लाइनअप तयार हुने क्रम अझै सकिएको छैन् । अन्तर्राष्ट्रिय रुपमा चलचित्र वितरण गर्दै आएको कम्पनी सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्मका लागि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल यसअघि नै अनुबन्धित भइसकेका छन् ।
सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण हुन लागेको यो चलचित्रमा प्रकाश र मुकुनपछि थप तीन जना कलाकारहरू अनुबन्धित गराएको छ ।
अभिनयका कारण चिनिँदै आएका कलाकार विनोद न्यौपाने, कलाकार भोला राज सापकोटा र देशभक्त खनाललाई निर्माण पक्षले अनुबन्धित गराएको छ । यो चलचित्रमा यी तीन कलाकारहरुलाई शीर्ष भूमिका देख्न सकिनेछ ।
सोसल–ड्रामामा निर्माण हुने यो चलचित्रले मौलिक कथाको एक गहन विषयलाई उठान गर्नेछ। निर्देशक सरोज पौडेलको लेखन तथा निर्देशन रहने यो चलचित्र जेठको दोस्रो साताबाट छायांकनमा जानेछ।
यो चलचित्रको अभिनेता र अन्य कलाकारहरू फाइनल भए पनि अभिनेत्री र अन्य कलाकारका बारेमा निर्माणपक्षले मुख खोलेका छैनन् । करिब दुई हप्ता अघि चलचित्रको नाम र मोसन पोस्टर सार्वजनिक गरेको निर्माण टिमले यो चलचित्रलाई विं.सं.२०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी , रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माता, महेश दवाडीको पटकथा तथा संवाद रहने यो चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत छ ।