निर्देशक राजबहादुर साने निर्देशित चलचित्र ‘सिटामोल’ जापानमा प्रदर्शन हुने भएको छ । नेपाल प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको जापान प्रदर्शन अधिकार गरिमा फिल्मस्ले लिएको हो ।
नेपालसँगै यो चलचित्र जापानमा पनि एकसाथ प्रदर्शन गरिने निर्माणपक्षले सहमति गरेको छ । चलचित्रको छायांकन अझै केही प्रतिशत बाँकी रहेको समयमा यो चलचित्र धमाधम बिक्री भइरहेको निर्देशक सानेले बताए।
अहिले पोस्ट प्रोडक्सनको काम चलिरहेको यो चलचित्रको नेपाल प्रदर्शन मिति घोषणा हुन अझै बाँकी छ । नायक सौगात मल्ल र नायिका बेनिशा हमालको मुख्य भूमिका रहेको यो चलचित्रमा माओवादी सशस्त्र युद्धको कथावस्तुको सेटिङमा यी दुईले पतिपत्नीका रुपमा अभिनय गरेका छन्। यो चलचित्रमा नायक सौगात जनयुद्धको घाइतेको रूपमा देखिँदैछन् ।
तुलसी देवी फिल्म प्रालीको ब्यानरमा निर्माण भएको यो चलचित्रमा बाबुल गिरीको संगीत, दिव्य सुवेदीको छायांकन, भूगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्याय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्मातामा छन् ।
सौगात र बेनिशाको अलवा लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समीप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसी लगायतले चलचित्रमा अभिनय गरेका छन् ।