‘मनसरा’को एकहप्ताको कलेक्सन ३ करोड २० लाख

२८ वैशाख २०८१ ७:३३

आजबाट दोस्रो हप्तामा प्रवेश गरेको चलचित्र ‘मनसरा’ले एकहप्तामा ३ करोड २० लाखको ग्रस कलेक्सन गरेको छ। रिलिजपूर्व नै १० करोडको आँकडा माथिको प्रक्षेपण गरिएको यो चलचित्रको व्यापार निकै सुस्त गतिमा छ भने आजबाट यो चलचित्र दोस्रो हप्तामा प्रवेश गरेको हो।

निर्देशक उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय यो चलचित्रले बक्स अफिसमा अपेक्षाकृत व्यापार गर्न सकेको छैन । चलचित्र दोस्रो साता प्रवेशको पूर्वसन्ध्यामा बिहीबार यसको निर्माणपक्षले विशेष शोको आयोजना समेत गरेको थियो ।

चलचित्रको विशेष शोमा राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङदेन, गायक तथा अभिनेता प्रकाश सपूत, पूर्वमिस नेपाल उषा खड्गी, अभिनेत्रीद्वय रेजिना उप्रेती र लुनिभा तुलाधरसहित नेपाल प्रहरीमा उच्चपदस्थ कर्मचारी र फुटबल खेलाडी लगायत हलमा पुगेका थिए।

यो चलचित्र हेरेपछि राप्रपा अध्यक्ष लिङदेनले चलचित्र हेर्न लायक रहेको प्रतिक्रिया दिए। नेपालको जातीय र सांस्कृतिक विविधता जोड्ने कोशिस गरेको भन्दै उनले भने-‘समाजको एउटा तहको राम्रोसँग प्रतिनिधित्व गरेको छ । भविष्यमा समाजमा कुन प्रकारका जातीय, सांस्कृतिक अनि हाम्रो प्रचलनहरु थिए भन्ने कुरा बुझाउन मदत गरेको छ।,

त्यस्तै, गायक सपूतले भने – ‘यो चलचित्र एकदमै राम्रो लाग्यो । एकदमै सरल छ । एउटा राम्रो किताब पढेको जस्तो महसुस भयो,’ उनले भने । ‘प्रेम, जीवन र संघर्षका आयामहरु देखाउन यस्ता चलचित्रले मद्दत गर्छ ।’

निर्देशक सुब्बाकै लेखन रहेको यो चलचित्रका निर्माता तथा छायाँकन शैलेन्द्र ध्वज कार्की हुन् । विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन थाक्लुङ सह–निर्माता छन् । यो चलचित्रामा निमेष श्रेष्ठको सम्पादन छ ।

सिजन दाहाल कार्यकारी निर्माता र किरण चाम्लिङ राई सह–निर्माता रहेको यो चलचित्रमा मिरुना मगर, प्रवीण खतिवडा, दयाहाङ राई, मेनुका प्रधान, उपेन्द्र सुब्बा लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *