दलित आयोगका पदाधिकारीसँग ‘पूजार सार्की’ टिमको छलफल

२४ वैशाख २०८१ ८:३९

चलचित्र ‘पूजार सार्की’ प्रति राष्ट्रिय दलित आयोगले चासो देखाएको छ। यसै साता ललितपुरको कुपण्डलोस्थित आयोगको कार्यालयमा यो चलचित्रको टिमसँग आयोगका अध्यक्षदेखि सदस्यसम्मले भेट गर्दै चलचित्रबारे जानकारी लिएका हुन्।

जातीय विभेदविरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथामा आधारित रहेर निर्माण गरिएको यो चलचित्रको टिमलाई स्वागत गर्न आयोगले विशेष कार्यक्रम नै राखेको थियो। यो चलचित्रका अभिनेत्री द्वय अञ्जना बराइली र परीक्षा लिम्बू तथा लेखक विकास सुवेदीको कार्यक्रममा उपस्थिति थियो। लेखक सुवेदीले आयोगलाई यो चलचित्रको कथावस्तुबारे जानकारी दिँदै ‘पूजार सार्की’ आफूले देखेको घटनामा आधारित रहेर निर्माण गरिएको उल्लेख गरे।

कार्यक्रममा सुवेदीले भने, ‘मैले आफ्नो गाउँ ठाउँमा देखेको घटनामा यो चलचित्र लेखेको हुँ। चलचित्रमा उल्लेखित केही घटनालाई प्रगतिशील विचार राख्नेहरूले समेत मुर्ख्याइँको रूपमा लिने गरेका छन्, जुन कुरा बाहिर आउन जरुरी छ। यसले हाम्रो समाजको दृष्टिकोण अझै बदलिएको रहेनछ भन्ने मलाई लाग्यो।’ कमर्सियल कलाकारहरू र प्रस्तुतिसहित यो चलचित्रबाट जात भन्ने चीज नै मानवीय दृष्टिमा स्वीकार्य हुँदैन भन्ने कुरा स्थापित गर्न खोजिएको लेखक सुवेदीले स्पष्ट पारेका थिए। तत्कालीन राजा महेन्द्रले मुलुकी ऐन अन्त्य गरेर छुवाछुत जघन्य अपराध हो भन्ने स्वीकार गरे, त्यो दिनदेखि २०४६ सालको ५६ दिनको आन्दोलनको पेरिफेरिमा चलचित्रको कथा घट्छ।’ उनले भने ।

त्यस्तै, अभिनेत्री अञ्जना बराइलीले आफू पनि दलित समुदायबाट प्रतिनिधित्व गर्ने भएकाले बच्चैदेखि विभेद देखेको स्मरण गरिन्। अर्की अभिनेत्री परीक्षा भनिन्,- ‘जातीय विभेद त अब सकिसक्यो, यस्तो कथामा पनि चलचित्र बनाउनुपर्छ र भन्ने भएको थियो। जब चलचित्रको कथा सुनेँ र जहाँ छायाङ्कन भयो, त्यहाँको परिस्थितिले मलाई अचम्मित बनायो। त्यहाँ धेरै कुरा देख्ने र बुझ्ने मौका पाएँ।’

आयोगका अध्यक्ष देवराज विश्वकर्माले जातीय विभेद अन्त्य गर्ने उद्देश्यले ‘पूजार सार्की’ निर्माण भएकोमा खुसी व्यक्त गरे। उनले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। दलित आयोगका सदस्यहरू मिना देवी सोव, टुन्जे कामी, मेहले पार्की र सुन्दर पुर्कुटीले पनि चलचित्रले उठाएको विषयको प्रशंसा गर्दै यसले जातीय विभेद अन्त्य गर्न भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।

दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्र आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रमा सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *