‘वसन्त’ निर्माणको घोषणा – प्रकाश र स्वस्तिमाको जोडी पर्दामा

२४ वैशाख २०८१ ७:५९

गायक प्रकाश सपुतको निर्माण, निर्देशन र अभिनय रहने चलचित्र ‘बसन्त’ निर्माणको घोषणा गरिएको छ। आईतवार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो चलचित्रको औपचारिक घोषणा गरिएको हो ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने यो चलचित्रमा गायक सपुत र नायिका स्वस्तिमा खड्काको मुख्य भूमिका रहने छ। चलचित्रमा प्रकाश घिमिरे, अनुप बराल र कमलमणि नेपाल लगायतका कलाकारहरुको पनि भूमिका रहने छ। यो चलचित्रमा संगीत र पटकथा पनि सपुतकै छ । यो चलचित्रले एक युवक र एक युवतीको अन्तरजातिय प्रेमको कथा पेश गर्नेछ।

यो चलचित्रमा उनी ‘वसन्त’को भूमिकामा देखिनेछन् भने ‘बसन्त’ पात्रले दलित युवकको चरित्र निभाउने छ । उनको अपोजिटमा रहने पात्रको नाम शान्ती हुनेछ । जसले, विद्रोह गरेर अन्तरजातीय विवाह गर्नेछ ।

कार्यक्रममा बोल्दै उनले, ‘आफ्नै जीवनको कथामा मिल्दोजुल्दो चलचित्र बनाउन लागेको जानकारी बताए । आफैँले देखेर भोगेको कथा यो चलचित्र मार्फत उतार्न लागेको उनको भनाइ छ । जात र वर्गीय व्यवस्थाकै कारण विभेद भोगिरहेको समुदायले भोग्नु पर्ने कथामा महिलाले विद्रोह गर्ने उनी बताउँछन् । आफूले जे भोगेको हो त्यही नै देखाउने उनले बताए ।

उनी भन्छन्, ‘यो भन्दा कमर्सिय चलचित्र बनाउँ भन्ने कुरा पनि आएको थियो । विषय पनि थिए । तर हरेक सर्जकले पहिला आफ्नै कथा भन्छ रे ।, ‘पहिला आफ्नै जीवनको कथा भनौँ अनि बाँकी कथा भनौँला भनेर मैले भोगेकै कथा यो चलचित्रमा लेखेको छु ।’

त्यस्तै, नायिका स्वस्तिमा खड्का भन्छिन्, – ‘मलाई विश्वास गर्नु भएकोमा प्रकाशजीलाई धन्यवाद । मैले उहाँसँग पहिला पनि काम गरिसकेकाले ब्लाइन्डली विश्वास गर्नसक्छु’ ‘उहाँका भिडियोमा महिला पात्रलाई बलियोसँग पोट्रे गरिएको हुन्छ । कतिपय भिडियो र चलचित्रमा महिला आउने जाने मात्रै हुन्छ, तर उहाँ महिला चरित्रलाई उठाइसकेपछि बलियोसँग उठाउनुपर्छ भन्नुहुन्छ । त्यसैले उहाँको काममा म ढुक्कले विश्वास गर्नसक्छु ।’

यही बर्षको चैते दशैँलाई प्रदर्शन मिती घोषणा गरिएको यो चलचित्रमा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन कार्यकारी निर्माताको रुपमा छन् । यो चलचित्रको छायाअंकन भदौ महिनाबाट सुरु गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *