उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको चलचित्र ‘मनसरा’को बुकिङ खुला गरिएको छ। यही शुक्रबार अर्थात बैशाख २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको देशभरका मल्टिप्लेक्सले मंगलबारबाट नै बुकिङ खुल्ला गरेको हो।
रिलिजको ३ दिन अगाडि नै बुकिङ खुल्ला गरिएको यो चलचित्रले देशभरका हलमा उच्च शो पाएको छ। वान सिनेमाजले नयाँ बाँनेश्वर र कालिमाटीका दुई आउटलेटमा १२ शोज, क्यूएफएक्स चेनले देशभर ६९ शोज उपलब्ध गराएको छ भने काठमाडौंमा २८ र मोफसलमा ४१ शो पाएको छ । यस्तै, बीग मुभिजले ७ शोज उपलब्ध गराएको छ ।
यसरी हेर्दा यो चलचित्रको ओपनिङ आक्रामक हुने देखिन्छ। यसअघि निर्देशक सुब्बाले निर्देशन गरेको चलचित्र ‘जारी’ले ब्लकबस्टर व्यापार गरेको थियो । अहिले यो चलचित्रले दर्शकको ध्यान तानिरहेको छ।
चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र ध्वज कार्कीको छायांकन, सिजन दाहाल कार्यकारी निर्माता र किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकको रुपमा छन् ।
एप्पल इन्टरटेन्मेन्टले वितरण गर्ने यो चलचित्रमा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान लगायतका कलाकारको अभिनय छ ।